इजिप्टमा सेनाद्धारा मानवता विरोधी अपराध

काठमाडौं, श्रावण २७ । मानवअधिकारवादी संगठन ह्युमन राइट्स वाचले इजिप्टमा सेनाले मानवता विरोधी अपराध गरेको जनाएको छ । ह्युमन राइट्स वाचले गत वर्ष इजिप्सियन सेनाले गरेको ८ सय १७ जनाको हत्यालाई मानवता विरोधी अपराधको रुपमा हेर्न सकिने उल्लेख गरेको छ ।
संगठनले रब्बाब अल आदाविया मस्जिदमा सेनाले १ हजारभन्दा बढीको हत्या गरेको घटनालाई युद्ध अपराधसँग  दाज्न खोजेको बताइएको छ । सेना समर्थित सरकारले भने यो घटना लगत्तै सुरक्षाकर्मीको प्रशंसा गरेको थियो ।
इजिप्सियन सेनाले भड्काएको प्रदर्शनमा मारिनेको संख्या विश्वकै इतिहासमा एकै दिन यति ठूलो संख्यामा सर्वसाधरण मारिएको पहिलो घटना भएको संगठनका कार्यकारी निर्देशक केनेथ रोथले बताएका छन् ।
इजिप्ट सरकारले हिजोमात्र रोथ र उनका साथीलाई इजिप्ट प्रवेशमा रोक लगाएको थियो । घटनाको समयमा इजिप्टमा अब्दुल अल सीसी सेना प्रमुख थिए ।
मुलुकको पहिलो जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरेपछिको निर्वाचनबाट सीसी हाल राष्ट्रपति छन् । (एजेन्सी)