सिन्धुपाल्चोक, श्रावण २८ । पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुरे र माङ्खा क्षेत्रका झण्डै १५ गाउँ विकास समितिमा खाद्यान्न अभाव देखिएको छ । बाढी र पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा गाउँ र बजारबीचको सम्पर्क टुटेपछि संकटको अवस्था आएको हो ।
अत्यावश्यक उपभोग्य सामग्रीको आपूर्ति रोकिंदा सामानको मोल एकाएक चुलिएको छ । जुन स्थानीयको खरिद क्षमताभन्दा बाहिर पुगेको छ । नदी र पहिरोले दुबै तर्फबाट सम्पर्क सडक सञ्जाल टुटेपछि बाह्रबिसे, रामचे, धुस्कुन, चोकटी, मानेसरा, गापी, मार्मिङ लगायतका गाविसका सर्वसाधारण मारमा परेका हुन् ।
पहिरो पीडितको पुनस्र्थापनको अवस्था त झन् कहालीलाग्दो छ । गाउँमा कोही बिरामी परेमा त्यसलाई अस्पताल पुर्याउनै समस्या भएको छ । पहिरोले उठीवास भएकाहरुले अझै उचित उद्धार र राहत पाउन सकेका छैनन् ।
सरकार र विभिन्न संघसंस्थाले राहत सामग्री पुर्याएपनी बास्तविक पीडितको अवस्था भने दयनीय बन्दै गएको छ । उता, सरकारले वैकल्पिक मार्ग भन्दै सुनकोशी जलविद्युत केन्द्रको ड्यामसाईडबाट टेकानपुर धुस्कुन हुँदै बाह्रबीसे निस्कने सडक खोल्ने काम शुरु गरेको छ ।
यो बाटो अहिलेको भन्दा ११ किलो मिटर लामो हुनेछ । सडक बगाएको ठाउँबाट चार किलो मिटरमा बाह्रबिसे पुग्न सकिनेमा अब १५ किलो मिटर लाग्नेछ । उता, साउन १७ गतेदेखि तातोपानी भन्सार बन्द हुँदा दैनिक दुई करोड राजस्व घाटा भएको कार्यालयले जनाएको छ । IMAGEKHABAR