श्रावण २९ । गाजामा युद्धविरामको अवधि अरु पाँच दिन लम्ब्याउन इजरायल र प्यालेष्टायनबीच सहमति भएको छ । अस्थायी युद्धविरामको अवधि लम्ब्याउन सहमति भएपनि हमासले रकेट प्रहार गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको खबर पनि आएको छ ।
गाजाबाट पाँच वटा रकेट आक्रमण भएपछि रकेट दागिएको स्थानमै लक्षित गरी हवाई आक्रमण गरिएको दावी इजरायलले गरेको छ । हमासले भने आफ्ना तर्फबाट रकेट आक्रमण नभएको जनाएको छ ।
तीन दिने युद्ध विराम अवधि सकिएलगत्तै इजिप्टको कायरोमा भएका अप्रत्यक्ष वार्तामा अरु पाँच दिन संघर्ष रोक्न सहमति जुटाइएको थियो ।
यो सहमतिले शान्तिको बाटो खोज्न नयाँ सम्भावना खुलेको प्यालेष्टायनी अधिकारीहरुले बताएका छन् । ८ जुलाईदेखि शुरु भएको संघर्षका क्रममा करीब दुई हजार व्यक्ति मारिएका छन् । जसमा १९ सयभन्दा बढी सर्वसाधारण प्यालेष्टायनी छन् । AGENCIES