श्रावण ३० । इराकका प्रधानमन्त्री नूरी अल मलिकीले पद त्यागेको घोषणा गरेका छन् । मलिकीले पद त्याग्ने घोषणा गरेसँगै इराकमा सत्ता हस्तान्तरणको अन्यौल अन्त्य भएको छ ।
उत्तरी इराकमा इस्लामिक राज्यको पक्षमा रहेको सुन्नी विद्रोहीको दबदबा बढेका समयमा इराकी सत्तामा को प्रधानमन्त्री बन्ने भन्ने अन्यौल थियो । हालै सम्पन्न निर्वाचनमा बहुमत ल्याएर पनि मलिकीलाई सत्ता त्याग्न घरेलु र बाह्य हस्तक्षेप निकै थियो ।
त्यहीअनुरुप राष्ट्रपति फाद मौसूमले मलिकीलाई सरकार बनाउन आह्वान नगरी उपसभामुख हैदर अल अवादीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपतिको कदम असंवैधानिक भएको टिप्पणी गर्दै उनले आफ्ना वफादार सुरक्षा संयन्त्रलाई राजधानी बग्दादका महत्वपूर्ण स्थानमा तैनाथ समेत गरेका थिए ।
अमेरिका र इरानसमेत मलिकीको स्थानमा नयाँ प्रधानमन्त्रीका पक्षमा उभिएका थिए । तर, मलिकीको यो निर्णयसँगै अवादीलाई नयाँ सरकार बनाउन बाटो खुलेको छ । (एजेन्सी)