काठमाडौं, श्रावण ३० – सशस्त्र प्रहरी बलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ८८ लाख ७१ हजार ५ सय ९३ रुपैयाँ प्रदान गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले शुक्रबार एक कार्यक्रमबीच प्रधानमन्त्री सुशील कोइरालालाई रकमको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सशस्त्र प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायव महानिरीक्षकले पाँच दिनको तलब बराबरको रकम प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र उपरीक्षकले तीन दिनको तलब तथा सशस्त्र प्रहरी नायव उपरीक्षक र निरीक्षकले दुई दिनको तलब बराबरको रकम प्रदान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
सशस्त्र बलका जुनियर अधिकृत तथा विल्लादार जवानले एक दिनको तलव बराबरको रकम प्रदान गरेका छन् ।
यसअघि सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस- १ जुरेस्थित सुनकोशीमा गएको पहिरोबाट पीडित स्थानीय नागरिकको सहयोगार्थ सशस्त्र प्रहरी बलले यही साउन २४ गते करिव १९ लाख रुपैयाँ बराबरको सामाग्री जिल्ला दैवीप्रकोप उद्धार तथा राहत वितरण उपसमिति सिन्धुपाल्चोकलाई हस्तान्तरण गरेको थियो ।
सोही राहत वितरण उपसमितिलाई त्यसैदिन सशस्त्र प्रहरी परिवार महिला संघले करीव तीन लाख रुपैयाँ बराबरको चालम, दाल, भाँडावर्तन, औषधि लगायतको राहत सामाग्री प्रदान गरेको थियो । EKANTIPUR
प्रकाशित मिति: २०७१ श्रावण ३०