कैलाली, बर्दिया, श्रावण ३१ । पूर्वी भेगमा वर्षा रोकिएपनि मध्य तथा सुदूरपश्चिमी भेगमा भने वर्षा कायमै रहेको छ । कैलालीमा अविरल वर्षापछि आएको बाढीबाट हालसम्म २ हजार ९ सय ९८ घर डुबानमा परेका छन् ।
यस्तै, १ हजार ८ सय ९८ जना विस्थापित भएका छन् भने एक सयभन्दा बढी घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अत्याधिक वर्षापछि आएको बाढीले पूर्व-पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्जखण्डमा सडक बगाउँदा ३ दिनदेखि यातायात सेवा सञ्चालनमा आउन सकेको छैन ।
सुदूरपश्चिमबाट पूर्वी रुटमा चल्ने कुनै पनि सवारी साधन चल्न सकेको छैन ।
उता, बझाङ जोड्ने सडक पनि पहिरोले थुनिएका कारण यातायात सेवा ठप्प छ । कर्णाली नदीमा हिजो पानीको सतह अहिलेसम्मकै उच्च १६ मिटर पुगेकोमा आज घटेर १० मिटरमा पुगेको छ ।
कर्णालीमा पानीको सतह घटेपनि भारतले कैलाशपुर बाँधका ढोकाहरु नखोलेका कारण आधा दर्जन गाविस डुबानमा परेका हुन् । कर्णाली नदीको बाढीबाट टीकापुर नगरपालिका, धनसिंहपुर, मनुवा, नारायणपुर गाविसको अधिकांश भाग डुबानमा परेको छ ।
बाढीबाट विस्थापित तथा डुबानमा परेकाहरुको उद्दार तथा राहतका लागि प्रयास जारी रहेको बताइएको छ ।
बाढीले सबैभन्दा बढी टीकापुर नगरपालिकाका साथै पथरैया, दुर्गौली, नारायणपुर, धनसिंहपुर, लालबोझी, खैलाड, थापापुर, भजनी, पहलवानपुर, मुनुवा, प्रतापपुर, सुगरखाल, बौनियाँ गाविसमा क्षति पुर्याएको छ ।
बाढी-पहिरोमा परी देशभर ५९ को मृत्यु, ७० बढी बेपत्ता
काठमाडौं, दाङ, पाँचथर, सुनसरी, श्रावण ३१ । तीन दिनयता देशभर परेको लगातारको वर्षा आजबाट कम भएको छ । यद्यपि, फाट्टफुट्ट वर्षा भने हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य तथा सुदूरपश्चिमी भेगमा आज पनि वर्षा जारी रहेपनि नदीमा पानीको बहाव भने घटेको मध्यपश्चिमाञ्चल प्रहरी प्रमुख केशबहादुर शाहीले जानकारी दिए ।
बाढी र पहिरोमा परेर देशभर तीन दिनयता ५९ जनाले ज्यान गुमाइसकेका छन् भने ७० बढी बेपत्ता र हजारौं विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । जसमा हालसम्म ३५ सय बढीको उद्धार गरिएको जनाइएको छ । बाढी र पहिरोले सबैभन्दा बढी मध्य तथा सूदूरपश्चिममा क्षति पुर्याएको छ ।
उता, उद्धारको क्रममा आज दाङमा थप ४ जनाको शव फेला परेको छ । योसँगै दाङमा मृत्यु हुनेको संख्या १० पुगेको छ भने दाङमा पाँचजना बेपत्ता भएका छन् ।
दाङमा ववई नदीले बगाएर बेपत्ता भएका मध्ये धनवरी २ का शेरवहादुर ओली, उनकी श्रीमती खली र नातिनी अश्मिता र गोल्टाकुरी ३ की सुमित्रा डांगीको शव फेला परेकोे हो ।
दाङमा हालसम्म ८७ घर पूर्ण रुपमा भत्किएको छ भने १ सय ९ घर डुबानमा परेका छन् । दाङमा बाढीले चारओटा झोलुंगे पुलसहित प्रमुख राजमार्गको तीन ठाउँमा सडक बगाएको छ ।
उता, पूर्वी पहाडी जिल्लाहरुमा वर्षा रोकिएपछि सप्तकोशी नदीमा पनि पानीको बहाव कम भएको छ । आज बिहान गरिएको मापनअनुसार कोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४९ हजार ५ सय ८५ क्युसेक पुगेको छ ।
यसअघि कोशीमा पानीको बहाव हालसम्मकै उच्च ३ लाख ४१ हजार क्युसेक पुगेको थियो । सप्तकोशीमा अहिले ५६ मध्ये ३१ ढोका खोलिएका छन् ।
लगातारको वर्षाले पाँचथरका ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् । पाँचथरको दक्षिणी गाविसहरु रवि, सराङडाँडा, मौवा, आङना, वलने, कुरुम्वालगायत एक दर्जन बढी गाविसका ठाउँ