काठमाडौ, श्रावण ३१ – देशभर आएको बाढीपहिरो पीडितलाई राहत र उद्दारको लागि भारत सरकारले चार करोड ८० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रञ्जित रायले भारत सरकारको निर्णयबारे जानकारी गराएका हुन् ।
भारतको ६८ औं स्वतन्त्रता दिवसको अवसर पारेर राजधानीमा शनिबार नेपाल भारत मैत्री संस्था सञ्जालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भारतीय राजदुत रायले नेपालको विपतमा साथ दिन भारत सरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै राजदुत रायले नेपाल-भारतबीच अबको सम्बन्ध आर्थिक विकासको लागि हुनुपर्ने धारणा राखे । उनले गरिबी उन्मुलन, स्वास्थ्य विकास, रोजगारी सिर्जनाको लागि दुई देश सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।
‘दुनियाँका धेरै देश प्रगतिपथमा अघि बढिरहेका छन्’, राजदुत रायले भने,’हामीले पनि हाम्रो स्रोत साधनको प्रयोग गरी सँगै अघि बढ्नुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भारत सरकारले नेपालप्रति देखाएको सहयोग र सद्भावको लागि धन्यवाद दिए । उनले नेपाल र भारत राजनीतिक रुपमा विभाजित भए पनि सामाजिक र साँस्कृतिक रुपमा धेरै नजिक रहेको चर्चा गरे ।
नेपाल र भारत हातेमालो गरी संयुक्त राष्ट्रसंघलगायत विश्वका मञ्चमा बलियो गरी उभिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सञ्जाल संयोजक पूर्व मन्त्री चन्दा चौधरीले नेपाल भारत सम्बन्धको चर्चा गरे । EKANTIPUR