गत साउन २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले राहत पुर्याएको छ । बाढी तथा पहिरोको प्रभावित क्षेत्रमा सेनाले राहत पुर्याउने र उद्धार गर्ने काम सँगसँगै गरिरहेको छ ।
सुर्खेत जिल्लाको रानीघाट, साताखानी, छिन्चु-हरिहरपुर सडक खण्ड, कटकुवा ईलाका, सल्यान जिल्लाको लिगलचुला र बटालीखोला, जाजरकोट जिल्लाको बाराकोट दोलाहा, बर्दिया जिल्लाको गुलरिया नगरपालिका र वगनाह ईलाका, दाङ्गको ढडुवा तथा कैलालीको भजनी इलाका लगायत देशका विभिन्न स्थानहरुमा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।
कैलालीको टिकापुर रानीकुलो बांध मरामत र बाजुरा जिल्लाको त्रिवेणी जलविद्युत आयोजनाको नहर मर्मत गर्ने कार्यको लागि समेत नेपाली सेनाको फौज परिचालन भईरहेका छन् ।
यसैगरी बर्दिया जिल्लाको पदनाहा र बांनियाभारमा नेपाली सेनाको सुपरपुमा हेलिकप्टरबाट २ पटक गरी २६०० के.जी., बर्दियाकै बाबियाचौर र घाटगाउंमा एम आई १७ हेलिकप्टरबाट १७०० के.जी., सुर्खेतको तरङ्गा र हरिहरपुरमा नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरबाट २२०० के.जी., बांकेको कम्दी र सल्यानको लिगलचुलीमा नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरद्धारा राहत सामाग्री ढुवानी गरेको छ ।
नेपाली सेनाको एलुवेट हेलिकप्टरद्धारा रोल्पा जिल्लाको राउं गा.वि.स.बाट १ जना घाईतेलाई उद्धार गरी दाङ्ग लगिएको छ भने आजै गोरखाबाट १ जना घाईतेलाई काठमाडौं ल्याईएको छ । SETOPATI