बर्दिया, भाद्र ३ । बबई नदीको बाढीबाट प्रभावित बर्दियाका बाढीग्रस्त क्षेत्रका पिडितहरुमा भाइरल ज्वोरोको प्रकोप देखिएको छ । बाढीले बगाएर ल्याएका मरेका जीवजन्तुको लाशबाट गन्ध आउन थालेपछि महामारी फैलन सक्ने खतरा बढ्दै गएको हो ।
मौसम परिवर्तन, फोहर पानी र दुसित हावाबाट फैलिने भाइरल ज्वोरो बाढी पिडितहरुले आश्रय लिइरहेका शिविर र स्थानहरुमा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख अच्युत लामिछानेले बताए ।
कुनै कुनै शिविरमा छिटफुट झाडापखालका विरामी पनि भेटिएकाले शुद्ध खानेपानी पिउन पनि उनले सचेत गराएका छन् । बाढी पिडितको शिविरहरुमा चार जना डक्टर र १३ जना स्वास्थ्यकर्मी खटाइएको जानकारी लामिछानेले दिए ।
जिल्लामा पानी सुद्धिकरणका लागि ४५ हजार पियुस टेयाबलेट आएपनि बाढी प्रभावित क्षेत्रका बासिन्दाले नपाएको गुनासो गरेका छन् । बर्दियामा बाढीबाट २१ जनाको मृत्यु र १५ बेपत्ता र २० हजार विस्थापित भएका छन् भने ८५०० घर पूर्ण रुपमा बगेको छ ।
घरबारविहिन र विस्थापितहरुलाई विभिन्न विद्यालय, सरकारी भवन गरि ३८ शिविरमा राखिएको छ भने केही सडक पेटीमा बस्न बाध्य भएका छन् । IMAGEKHABAR