नेपाली काँग्रेसले तोकिएकै समयमा संविधान बनाउन संविधानका विवादित विषयमा पार्टीको अडानसहित सहमतिको आधार खोज्न पार्टीभित्र आन्तरिक छलफल सुरु गरेको छ ।
काँग्रेस पदाधिकारी, संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा पार्टीका तर्फबाट सहभागी सभासद एवम् मन्त्रीहरूसहितको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले सङ्घीयता, शासकीयस्वरुप, न्याय प्रणालीसहितका विषयमा सहमति खोज्नेबारे पार्टीभित्र छलफल सुरु गरेको हो ।
सो सम्बन्धमा पार्टीले यसअघि प्रस्तुत गरेको तथा चुनावमा पार्टीले घोषणापत्रमा राखेको अवधारणाका आधारमा अघि बढ्नेबारेमा पार्टीभित्र छलफल सुरु भएको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पत्रकारलाई बताए ।
उले २०६९ जेठ २ गते प्रमुख दलहरूबीच भएको सहमति सन्दर्भ सामग्रीका रुपमा रहेको बताउँदै शासकीय स्वरुप, सङ्घीयता, न्याय प्रणाली बारेमा पार्टीको अन्तिम निष्कर्षसहितको धारणा बनाउन बुधबार पुनः बैठक बस्ने जानकारी दिए । रासस