प्रधानमन्त्री सुशील कोइरालाद्धारा कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन

प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा बुधबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्ने बताए।
साथै, उनले सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिँदै सचिवहरुलाई कसैको दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिए।
सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृत्ति निकै फस्टाएको गुनासो गर्दै प्रधानमन्त्री कोइरालाले सचिवहरुलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह गरे। रासस