भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको चित्रकुटमा रहेको कामतानाथ मन्दिरमा मच्चिएको भागदौडमा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार एजेन्सी पीटीआइकाअनुसार ज्यान गुमाउनेमा अधिकांश महिला हुन् । घटनामा ६० बढी घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान सवा ५ बजेतिर हजारौं श्रद्धालु उपस्थित भएका बेला अचानक मुख्यद्धार नजिकै भागदौड मच्चिएको थियो । भागदौडको कारण अझै पत्ता नलागेको स्थानीय अधिकारीले जनाएका छन् ।
आज सोमबार सोमावती अमावस्याका अवसरमा हिन्दूधर्मावलम्बीहरुले मन्दिरमा बिहानै परिक्रमा गर्ने बेलामा अचानक भागदौड मच्चिएको उल्लेख गर्दै स्थानीय प्रहरीले समयमै उद्धार गरिए पनि किल्चिएर गम्भीर १० भक्तजनको ज्यान जोगाउन भने नसकिएको जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
गत वर्ष अक्टोवर १३ तारिखमा मध्यप्रदेशको दतिया जिल्लास्थित एक मन्दिरमा भागदौड मच्चिंदा एक सय १५ जनाको ज्यान गएको थियो । AGENCIES