पर्वत, भाद्र ११ । पर्वतको कुश्मा नगरपालिका १८ पकुवाका हरिलाल चापागाइँको घर पहिरोले पुरिंदा उनकी २८ वर्षीया छोरी जमुना पौडेल, जमुनाकी ७ वर्षीया छोरी जेनिका, ४ वर्षीया जश्मिनको मृत्यु भएको छ ।
सोही पहिरोमा पुरिएकी हरिलालकी ५८ वर्षीया श्रीमती पुतली चापागाइँको भने जीवितै उद्दार गरिएको छ । जमुना तीजका लागि दुई छोरी लिएर हिजो साँझ मात्रै माइतीमा आएकी थिइन् । घरधनी हरिलाल चापागाइँ खेतमा पानी हेर्न गएका कारण पहिरोबाट बच्न सफल भएका छन् ।
बिहान ७ बजे घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएको थियो ।
पहिरोले नहर थुनिएपछि पर्वतको चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।
यस्तै, पहिरोले राम्जा देउराली गाविस ७ स्थित जीवनज्योती प्राविको भवन पनि बगाएको छ भने पर्वतको डिमुवामा पहिरो जाँदा पोखरा बाग्लुङ राजमार्ग समेत अवरुद्ध भएको छ ।
– Imagekhabar.com