वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । गोखुंगाका पदमपाणी खनाल दुई वर्षमा दिल्लीबाट घरमा आउन सिमा नाकबाट आफनो देशमा पाईला टेक्दै थिए । कृष्णनगर नाकामा लुटिनबाट जोगिए । दिल्लीबाट चढेको गाडीले कृष्णनगर नाकामै उतारिदियो त्यसपछि सन्धिखर्क जान बस खोज्दा अपरिचित व्यक्तिले झोला लुटन खोजेका थिए । हो हल्ला गरेपछि उनीहरु भागे । डरले मन थर्रर्र काप्यो ।
सुपादेउराली टुर एण्ड ट्राभल्सका सदस्य मुन्ना थापा ।
कस्तो आपत, पसिना चुहाएर कमाएको दुई चार पैसा र परिवारलाई किनेको लत्ताकपडा पनि सुरक्षित घरसम्मै लैजान कति मुस्किल, उनले भने, चोरिने लुटिने त्रासले ज्यानै असुरक्षित हुदो रहेछ । उनी एक पात्र मात्रै हुन । यस्तै पीडा भारतबाट नोकरी गरेर आफनो देशमा भित्रने धेरै छन । कारण के हो त १५ वर्षसम्म त सुरक्षित यात्रा थियो । सन्धिखर्क-दिल्ली जीप सेवाले सीमा नाकामा गाडी बदल्न नपर्ने भएकाले यात्रा सुरक्षित थियो तर त्यो सुरक्षा फेरी एक वर्षदेखी खोसियो । २५ वर्षदेखी भारतमा नोकरी गर्दै आएको छु सिधै गाडी चल्दा यात्रा र सामान दुवै सुरक्षित भएको थियो, सन्तोष घर्तीले भने, मेरो तिन पटक झोला नै हरायो । देशमा स्थायी शान्ति र सुरक्षा अझै आएको रहेनछ । सन्धिखर्क-दिल्ली जीप सेवा पुनः सुचारु भै दिए घरमा ल्याउने सामान सँगै डर त्रास नहुने र सुरक्षित यात्रा गर्न पाईने थियो उनले भने, हामीलाई यसरी दुःख दिनेको राम्रो नहोस ।
सुपादेउराली टुर एण्ड ट्राभल्स प्रालिले २०५६ सालबाट सन्धिखर्क-दिल्ली जीप सुचारु गरेको थियो । १५ वर्षसम्म निरन्तर जीप सेवा सञ्चालन गर्यौ ट्राभल्सका सदस्य मुन्ना थापाले भने,गत भदौ महिना देखी पश्चिमाञ्चल बस व्यावसायी संघले जबरजस्ती अवरोध गरेपछि अहिले सेवा ठप्प छ । भारतमा बसेर रोजगार, पेशा व्यावसाय गर्नेले ट्राभल्स मार्फत १४ सिटका २० वटा टाटा विङगर जीप सञ्चालन गरेका थिए । विना कुनै सुचना रोडमै गाडी चल्नमा अवरोध गरे , उनले भने, कानुन अनुसार संस्था दर्ता गरी राज्यलाई कर तिरेर पनि चल्न किन नपाउने ? किन यस्तो अन्याय गरियो, पश्चिमाञ्चलसँग वार्ताका लागि बारम्बार आग्रह गर्दा उनीहरु सम्पर्कबाट भाग्ने गरेका छन । एउटा गाडीले साढे ११ सय रुपैया भन्सार र रुट अनुमतीको लागि ४ सय रुपैया तिर्ने र गोरुसिंगे देखी सन्धिखर्कसम्मको बस भाडा पश्चिमाञ्चललाई तिरेर गाडी चलाएको उनले बताए ।
पश्चिमाञ्चलले पनि कानुन विपरित दिल्लीबाट बसमा यात्रु बोक्ने गरेको उनले दावी गरे । दुवै यातायात व्यावसायीको द्धन्द्धले यात्रु मर्कामा परेका छन । यसबाट घाटै हुन्थ्यो तर भारतमा कमाएर किनेको सामान नेपालीले सुरिक्षत रुपमा घरसम्मै पुर्याउन सकुन भनेर मानवसेवाको हिसाबले गाडी सञ्चालन गरेको उनले दावी गरे । पश्चिमाञ्चलको दादागिरी, सिण्डिकेट र धम्किले अहिले सेवा अवरोध भएको छ । अवरोधले दिल्लीबाट सिधै सन्धिखर्क आउने गाडी अहिले सीमा नाका कृष्णनगरसम्म मात्रै आउछन ।
दिल्लीमा सामान प्याक गरेर लोड गरेपछि फेरी कृष्णनगर आएर गाडी खाली गर्ने र रिक्सामा समान लोड गरी बसपार्कसम्म पुर्याउदा धेरै प्रवासीको सामान, झोला हराउने, लुटिने समस्या रहेको यात्रुको गुनासो छ । त्यसमा महिला सबैभन्दा धेरै असुरक्षित हुन्छन् । सीमानामा लुटिने त्रास बढी छ । यो सेवाबाट सिंगो पश्चिमाञ्चल विकास क्षेत्र लगायत अन्य क्षेत्रका वासिन्दा लाभान्वित भएका थिए । भारतमा रोजगार गर्न जाने मात्रै नभएर आकस्मिक विरामीले पनि पाएको सुविधाबाट वञ्चित भए । पश्चिमाञ्चल बस व्यावसायी संघका अध्यक्ष दधि खरेलले भारतीय नम्बर प्लेटका गाडी नेपाल भित्र चल्न नपाउने दावी गरे । उनले सेवा र सुविधा भन्दा पनि गाडी चल्नु नै अवैध भएको दावी गरे ।