संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटवल संघ एन्फालाई २४ गतेभित्र बैक खातादेखि सम्पूर्ण लेखापरीक्षणको रिपोर्ट बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले तीन दिन भित्र रिपोर्ट बुझाउन समितिले भनेपनि एन्फाले आलटाल गरेको भन्दै पुनः २४ गतेसम्मलाई समय दिएको हो।
समितिले खेलकूद मन्त्रालयसँग माग गरेका विवरणहरुको सूचिमा मन्त्रालयबाट भएको छानविनको प्रतिवेदन, उजुरीकर्ताले उठाएका प्रश्नहरुको लिखित जवाफ -(पूष्टी हुने कागजात) र एन्फाको विगत ५ वर्षको आर्थिक वर्षको आय व्ययको विवरण र बैक कारोबारको विवरण छन्।
एन्फा भित्र आर्थिक अनियमितता भएको भन्दै उपाध्यक्षहरु कर्माछिरिङ्ग शेर्पा, विजय नारायण मानन्धर र किशोर राई तथा केन्द्रीय सदस्य पंकज नेम्वाङ्ले लेखा समितिमा उजुरी दिएका थिए।
उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।
अख्तियारले पनि एन्फाको फाइल नियन्त्रणमा लिएको छ। एन्फा अध्यक्ष गणेश थापाले भने कुनै आर्थिक अनियमितता नभएको दाबी गर्दै आएका छन्। SETOPATI