भारत र पाकिस्तानमा हालै आएको बाढीपहिरोमा परी मर्नेको संख्या ४ सय नाघेको छ । भारत प्रशासित जम्मु-कश्मिरमा मात्रै मृतकको संख्या २ सय पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
बाढीबाट ४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । २५ सय गाउँ बाढीले प्रभावित भएकोमा ४ सय ५० भन्दा बढी पूरै पानीको डुबानमा परेका छन् । जम्मु, श्रीनगर लगायतका क्षेत्र सञ्चार सम्पर्कविहीन भएका छन् । श्रीनगरको ९ लाख जनसंख्या मध्ये करिब ३० प्रतिशत बाढीका कारण पूरै प्रभावित भएका छन् ।
भारतबाट पाकिस्तानतर्फ बग्ने नदीमा बाढी आएकाले ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन डुबानमा परेको बताइएको छ । राहत र उद्धारमा सेना परिचालन गरिएको छ । पाकिस्तानमा भने बाढीका कारण ज्यान गुमाउने संख्या २ सय ६ पुगेको छ । (एजेन्सी)