दसैंमा काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुलाई सहज तथा सुरक्षित यात्रामा सघाउ पुर्‍याउन सरकारले अनुगमन गर्ने

काठमाडौं, भाद्र २५ । दसैंमा काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुलाई सहज तथा सुरक्षित यात्रामा सघाउ पुर्‍याउन सरकारले अनुगमन गर्ने भएको छ । यात्रुलाई यातायातको सहज टिकट उपलब्ध गराउन र जथाभावी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।
प्रधानमन्त्री कार्यालयमा सचिव शान्तराज सुवेदीको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक महाशाखा, यातायात व्यवसायी महासंघ, वायुसेवा सञ्चालक संघ र उपभोक्ता मञ्चका पदाधिकारीबीच मंगलबार भएको बैठकमा व्यवसायीलाई यस्तो निर्देशन दिइएको थियो ।
बैठकले भाद्रदेखि मात्र अग्रिम टिकट बुकिङ गर्न, सिट क्षमताभन्दा बढी टिकट नकाट्न, एउटै सिटमा दुईओटा टिकट नकाटन र त्यसो गरे कारबाही गर्न निर्देशन दिएको छ ।
सरकारले ६ घन्टाभन्दा लामो दुरीको यातायातमा दुई जना चालकको व्यवस्था, यात्रुको विवरणसहितको जानकारी ट्राफिक प्रहरीलाई उपलब्ध गराउन भनेको छ । टिकट काउन्टरमा बस्ने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउने व्यवस्था, टिकट बिक्री काउन्टरबाटै गर्न, विचौलियालाई प्रवेश नदिन र सिटभन्दा बढी यात्रु नराख्न समेत निर्देशन दिएको छ ।
गाडी छुट्ने समय र स्थान स्पष्ट पार्न पनि भनिएको छ ।
यात्रु चाप हेरी थप गाडी सञ्चालन गर्न र नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई उपत्यकाभित्र र बाहिर सडक जाम व्यवस्थापन गर्न र काठमाडौंको थानकोटमा थप जनशक्ति परिचालन गर्न पनि भनिएको छ । IMAGEKHABAR