उच्च अधिकारीका अनुसार डा. राउतबाट राज्य विप्लव (राज्य टुक्र्याउने) र राज्यद्रोह (राज्य नमान्ने) प्रमाण जुटेका छन्। तर प्रहरीले उक्त विषयमा सरकार आफैंको सरोकार हुनुपर्ने भएकाले ‘आदेश’ पर्खिनुपरेको छ।
विराटनगर, भाद्र २९ – सप्तरी महादेवा-७ का डा. चन्द्रकान्त (सीके) राउतलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा ६ दिन अनुसन्धानको म्याद थप गरेको छ । पूर्वी मोरङको रंगेलीनजिक मुसहर समुदायको भेलाबाट उनलाई शनिवार पक्राउ गरिएको हो ।
उनलाई सार्वजनिक अपराधअन्तर्गतको मुद्दामा म्याद थपिएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए । ‘यो म्यादमा उनको कसुरबारे प्रहरीले अनुसन्धान गर्नेछ’, उनले भने । स्वतन्त्र मधेस अभियानका लागि संगठन गर्दै हिडेका राउत बेलायतको क्याम्बि्रज विश्वविद्यालयबाट कम्प्युटर विषयका विद्यावारिधी हुन् । अमेरिकामा काम गर्दागर्दै २०६८ मा नेपाल फिरेका उनले मधेसलाई संविधानमै स्वतन्त्र राज्यको हैसियत प्राप्त हुनुपर्ने मत राख्दै आएका छन् ।
शनिवार उनी स्थानीय परमेश्वर मुर्मुको निम्तोमा पूर्वी मोरङ पुगेका थिए । त्यहाँको भेलाबाटै प्रहरीले नियन्त्रणमा लिइ उनलाई विराटनगर ल्याएको हो । उनका साथबाट उनले लेखेका दस्तावेज पनि बरामद भएको प्रहरीले जनाएको छ । हिन्दीमा रहेको दस्तावेजमा मधेसले स्वतन्त्र राज्यको हैसियत प्राप्त गरे हुनुपर्ने राष्ट्रगान र अभियान कसरी अघि बढाउन सकिन्छ भन्ने प्रारुप छ । राष्ट्रलाई टुक्रयाउन सकिनेसम्मको अभिमत राखेर संगठन गर्दै हिडेका उनीमाथि ‘राज्यविरुद्ध अपराधको मुद्दा’ चलाउन सकिने/नसकिनेमा प्रशासनले न्यायिक निकायसँग छलफल सुरु गरेको स्रोतले बताएको छ ।
तीन साताअघि सिंहदरवारमा राजनैतिक संवाद तथा सहमति समितिका संयोजक डा. बाबुराम भट्टराईले आयोजना गरेको बैठकमा राउतले विभेद भए राज्यसँग छुट्टनि पाउनुपर्ने अधिकार जनतामा निहित रहनुपर्ने भनाइ राखेका थिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीले युवा राजनीतिकर्मी डा.सीके राउतलाई तत्काल रिहा गर्न माग गरेको छ । उपाध्यक्ष हृदयेश त्रिपाठीले आइतबार विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त वाक स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार संरक्षण गर्ने दायित्व राज्यकै भए पनि फरक विचारकै कारण हिराशतमा लिनु अनुचित कार्य भएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । राउतलाई प्रहरीले शनिवार मोरङ रंगेलीबाट पक्राउ गरी हिराशतमा राखेको थियो ।
यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले राउत पक्राउको विरोध गरेका छन् । उनले टि्वटरमा लेखेका छन्, ‘सि के राउतको विचारसंग हामी सहमत हुन सक्दैनौं तर उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्त रिहा गरियोस् ।’
पद्मरत्न तुलाधार, दमननाथ ढुंगानासहितका एक दर्जभन्दा बढी अधिकारवादीले पनि राउत पक्राउको विरोध गर्दै रिहा गर्न माग गरेका छन् । उनीहरुले सामूहिक विज्ञप्ती जारी गर्दै राउतको पक्राउ विश्वव्यापी मानवअधिकार र अन्तरिम संविधानविरुद्ध रहेको बताएका छन् । EKANTIPUR