भैरहवा – भारतमा रोजगारी गरी दसैं मनाउन स्वदेश फर्किएका नेपालीहरुले रुपन्देहीको नेपाल भारत सीमानाका बेलहियामा सास्ती खेप्नु परेको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गरी दसैँ मान्न नेपाल फर्केकाहरुले नाकामा भारतीय सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीबाट पैसा असुल्ने गरेको गुनासो गरेका हुन्।
त्यस्तै नेपाल प्रवेश गरेपछि पनि भन्सार चेकजाचका नाममा आफुहरुलाइ दुख्ख दिने गरेको गुनासो उनीहरुले गरेका छन्।
विशेष गरी साँझ, बिहानको समयमा चेकजाँचका नाममा भन्सारका कर्मचारी तथा डण्डा पुल नजिकै शसस्त्रका जवानले स-साना झोला, पर्स खोतल्ने परिवारको लागि ल्याएको कोसेलीको पनि भन्सार शुल्क भन्दै पैसा माग्ने र लामो समय अल्मल्याइदिने गरेको उनीहरुको गुनासो छ।
भारतको बम्बैबाट मंगलबार बिहान सुनौली आइपुगेका धादिङ र नुवाकोटका युवाको टोलीले सिमापारी प्रतिव्यक्ति डेढसय र वारी एक सयका दरले भन्सार शुल्कको नाममा कर्मचारीले पैसा असुलेको गुनासो गरे। धादिङ बैरेनीका निल मगरले गोरखपुर नौतनवा र सुनौलीमा गरी तीन ठाउमा भारतीय सुरक्षाकर्मीले पैसा मागेर आफूहरुलाइ हैरान पारेको बताए। ‘दुइ ठाउँमा जेनतेन पैसा नदिइ फुत्कियौं तर सुनौलीमा पैसा नदिइ सुख्खै भएन’, मगरले भने ‘पारी मात्रै होला भनेको वारी आफ्नै देशमा पनि हालत उस्तै’ ।
सोही टोलीमा रहेका नुवाकोटका बद्री सिक्देलले नेपाल प्रवेस गरेपछि बेलहिया नाकामा बसेको चेकजाच टोलीले सगैं आएका साथीको झोला खोतलेर समान लथालिङ्ग पारीदिएपछि अन्य साथीहरुले झोला अनुसार सय-डेढसय तीरेर हिँडेको बताए। ८ जनाको टोलीमा रहेका नुवाकोटकै अर्का युवा शिव श्रेष्ठले चेकजाँचमा बसेका कर्मचारीहरुले जाँचका नाममा मिलाएर राखेका सामान लथालिंग पारीदिने स सानो समानका बारेमा अनावश्यक सोधखोज गर्ने गालीगलौज गर्ने गरेको गुनासो गरे।
‘सिमापारीका भारतीयहरुबाट सताइदा भन्दा आफ्नै भूमीमा आफनै दाजुभाइबाट ठगिँदा, रुखो र हेपाहा व्यवहार हुँदा दुःख लाग्छ’ निन्याउरो अनुहारमा उनले भने। जिल्लामा गत असोज एक गतेदेखिनै दसैं,तिहार र छठ पर्वलाइ व्यवस्थित र मर्यादित बनाउन रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना लागु गरीसकेको छ। जस अनुसार सीमानाका बेलहियामा रोेजगारी गरी स्वदेस फकर्ने नेपालीहरु लुटिने ठगीने गुनासाहरु आएकाले हेल्प डेक्स स्थापना गरीएको छ।
त्यसका अलावा भारतीय सुरक्षा निकाय संग समन्वय गरी आवश्यकता अनुसार गोरखपुर सम्मै सादा पोसाकमा प्रहरी खटाइएको प्रहरीको भनाइ छ । तैपनि सिमा क्षेत्रमा दुवै तर्फबाट अवैध असुली, लुटपाट तथा ठगी हुने क्रम रोकीएको छैन । वेलहियामा स्थापना गरीएको प्रहरीको नागरिक सहायता कक्षमा हाल सम्म २२ वटा उजुरी परेका छन । सिमापारी लुटिएका र पैसा असुली गरीएका उजुरी परेपनि नेपाली भुमीमा भएका अवैध असुलीका सम्बन्धमा भने मौखीक गुनासो मात्रै आउने गरेको हेल्पडेक्समा खटीएका प्रहरी जवान बिजय बिष्टले बताए । ‘भारतीयहरुबाट भएको अवैध असुलीको उजुरी टिपाउछन तर यताको उजुरी गरे झन्झटमा परीएला भन्ने डरले लिखीत उजुरी टिपाउन मान्दैनन’ प्रहरी जवान बिष्टले भने ‘हामीले सम्झाउन खोजे उल्टै तीमीहरुपनि उस्तै त होला भन्दै हिडछन’ ।
बिगतका बर्षको तुलनामा यात्रु लुटपाट र ठगीका घटनामा केही कमी आए पनि चेकजाचमा खटीएका केही कर्मचारी तथा सुरक्षाकर्मीको आचरणका कारण दसै मनाउन घर फकर्ने नेपालीहरुले सास्ती खेप्नु परेको बेलहियाका कृष्ण पाण्डेले बताए । भैरहवा भन्सारका सुचना अधिकृत अशोक गुरागाइले दसैंको मौका छोपेर अबैध ओसार पसार गर्नेहरु सक्रिय हुन सक्ने भएकाले चेकजाचलाइ कडाइ गरेपनि दसै मान्न घर फकर्ने लाहुरेहरुलाइ भने सामान्य जा”च बाहेक अनावश्यक दुख नदिन कर्मचारीहरुलाइ निर्देशन दिएको बताए । अवैध असुली तथा चेकजाचका क्रममा अनावश्यक दुख्ख दिने गरेका गुनासा आए लगत्तै सम्बन्धित कर्मचारीलाइ बोलाएर सचेत गराइएको सुचना अधिकृत गुरागाइले बताए । यता शसस्त्र चेकपोष्ट डण्डाका प्रहरी नायव निरीक्षक ध्वजराज भट्टले पनि झोलेपोके र अवैध ओसारपसार गर्नेहरुको चेकजाचमा कडाइ गरीएपनि दसैं मनाउन फकर्ने लाहुरेहरुलाइ भने समान्य चेकजाच मात्रै गर्ने गरेको प्रतिक्रिया दिए।
दसैँ नजिकीदै गर्दा भारतमा रोजगारी गरी दसैं मनाउन घर फर्कनेहरुको लर्को रुपन्देहीको सीमानाका बेलहियामा देख्न सकिन्छ। करिब एक महिना अघिदेखिनै सुरु भएको लाहुरेहरु घर फकर्ने क्रम घटस्थापनाको पुर्व सन्ध्यामा अझ बढेको छ । दैनिक ५ सयदेखि १ हजार प्रवासी नेपालीहरु दसै मनाउन यो नाका हुँदै घर फर्कने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मीले बताए। यात्रु ठगीएको वा भारतीय तथा नेपाली पक्षबाट अवैध असुली गरीएको भन्ने गुनासो वा उजुरी परे तत्काल सो रकम फिर्ता गराउने सम्मका सेवा प्रहरीले उपलब्ध गराउने उनले बताए।
कुन व्यक्तिले कती रकम अवैध असुली गरयो त्यसबारेमा बताउनेहरुलाइ हामीले तत्काल सो रकम फिर्ता गराएर सहयोग गर्ने गरेका छौ प्रहरी निरीक्षक रेग्मीले भने । NAGARIKNEWS