एन्फाका अध्यक्ष गणेश थापाद्धारा ५८ करोडभन्दा बढीको अनियमितता

संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले ५८ करोडभन्दा बढीको अनियमितता गरेको निष्कर्ष निकालेको छ ।
थापा अनियमिततामा संलग्न भएको भन्दै एन्फा अध्यक्षको हैसियतले कामकाज नगर्न पनि लेखा समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले थापामाथि लागेको भ्रष्टाचारको आरोपको छानविन टुंगो नलाग्दासम्म अध्यक्षको पद स्थगन गर्न गराउन पनि निर्देशन दिएको छ ।
समितिका सदस्य रामहरि खतिवडाले थापाले ५८ करोडभन्दा बढी अनियमिता गरेको देखिएकाले कारबाहीका लागि सम्पत्ति शुद्धीकरण र अख्तियारलाई निर्देशन दिइएको जानकारी दिए समितिले थापाको अध्यक्ष पद स्थगन गरी जानकारी गराउन खेलकुद मन्त्रालयलाई भनेको छ ।
समितिले खेलकुद क्षेत्रमा देखिएका विकृति, खेलाडीमा भएको विभेद र खेलकूद क्षेत्रको समग्र पुनसंरचनाका लागि आवश्यक ऐन कानून परिमार्जन गर्न पनि युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । थापालाई राप्रपा नेपालको कोटामा मन्त्रिपरिषदले केही दिनअघि मात्र सभासद मनोनित गरेको थियो । IMAGEKHABAR