वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । दसैको बेला एक अर्ब भन्दा बढी रेमिट्यान्स जिल्लामा भित्रिएको छ । महिना दिनको अवधीमा यति धेरै रेमिट्यान्स भित्रिएको बैंक तथा मनी ट्रान्सफरले जनाएका छन । अरु बेला दैनिक दुई करोड रुपैया भित्रिने गरेपनि दसैतिहारमा दैनिक सात करोड पुगेको थियो । प्रायः घरैपिच्छेका परिवारका सदस्य वैदेशिक रोजगारमा छन ।
सन्धिखर्कमा रहेका एक दर्जन बैंक तथा मनी ट्रान्सफरहरुले दसैको बेला दैनिक ४० देखी ६० लाख रुपैयाका दरले रकम वितरण गरे । उनीहरुका अनुसार दसैमा तेब्बर रेमिट्यान्स भित्रिने गर्छ । गत वर्ष भन्दा यसपालि रेमिट्यान्स ३० प्रतिशत बढेको छ । त्यसमा ३५ प्रतिशत रकम छिमेकी जिल्ला गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तुका बैंकहरुबाट अर्घाखाँचीमा रेमिट्यान्स भित्रिने गरेको छ । लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये अर्घाखाँचीमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने अनुमान छ ।
। दसैको शुरुवातसँगै रेमिट्यान्सको कारोबार तेब्बरले वृद्धि भएको साईन रेसुङा विकास बैक सन्धिखर्कका शाखा प्रमुख दिपक पोखरेलले बताए । दसैको बेला महिना दिनसम्म रेमिट्यान्सको मात्रै कारोबार भयो, उनले भने, दैनिक ३० देखि ४० लाख रुपैया वितरण गरियो । एउटा बैकमा दैनिक ४० देखी डेढ सय जनासम्मले रकम बुझे ।
जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैक, कैलास विकास बैंक, बैंक अफ काठमाण्डौ, एभरेष्ट, मेगा, ग्लोबल आईएमई, एसबीआई, शाईन रेसुङा, एनआईसी, भृकुटी बैंक सहित दर्जन वित्तीय संस्था र मनी ट्रान्सफरले रेमिट्यान्स वितरण गरेका छन । भृकुटीले पनि दैनिक ५० लाख रुपैया भन्दा बढी वितरण गरेको जनाएको छ । जिल्लामा रहेका सबैजसो बैंक र मनी ट्रान्सफरमा बराबरीको हाराहारीमा वितरण भयो। एसबीआई, एनआईसी, मेगा लगायतमा दैनिक ३५ देखी ४५ लाख रुपैया जति वितरण भएको छ । सबै बैंक तथा मनी ट्रान्सफरमा गरी कुल एक अर्ब रुपैया भन्दा बढी रेमिट्यान्स वितरण भएको बैंकले जनाएका छन ।
एभरेष्ट बैकका प्रवन्धक राजेश ज्ञवालीले गत वर्ष भन्दा अहिले ३० प्रतिशतले रेमिट्यान्स बढेको बताए । बैंकबाट एक परिवारले ३० हजार देखी ४ लाख रुपैया सम्म बुझेको उनले बताए । छिटफुट दसै पछि पनि वितरण हुनेछ । बैंक आफ काठमाण्डौका म्यानेजर मदन गौतमले मलेसिया, साउदी, कतार, भारत, दुवई लगायत अरबी देशहरुबाट पैसा आउने गरेको बताए । उनले गत वर्षभन्दा यो दसैमा प्रवासी नेपाली भित्रिएको बताए । रेमट्यिान्ससँगै विभिन्न पेशा र रोजगारीमा रहेका देशका विभिन्न ठाउँबाट पनि रकम आउने गरेको छ । आफैले विदेशबाट राखेको पैसा आफै झिकेको उनले बताए । यो सँगै अमेरिका जापान, कोरिया एवं युरोपियन देशबाट पनि उत्तिकै रेमिट्यान्स भित्रिने गरेको छ । बैंक तथा वित्तीयस संस्थाका अनुसार वर्षेनी रेमिट्यान्स बढदै गैरहेको छ । वैदेशिक रोजगारमा जानेहरु बढिरहेकाले बषौपिच्छे रेमिट्यान्स पनि वृद्धि भैरहेको छ । पैसा लिन गाउँबाट धेरैजसो महिला आउने गरेका छन । धेरैजसो पुरुषहरु वैदेशिक रोजगारमा छन ।
भारतबाट भन्दा अरु देशहरुबाट मोटो रकम आउने गरेको छ । वित्तीय संस्था मार्फत सुरक्षित र भरपर्दाे हुने भएकाले दसैमा घरमा आउनेले पनि पैसा बैंकमा राखेर रित्तै आउने गर्छन । बैंकले धेरै सजिलो भएको छ, भारतबाट सन्धिखर्क आएका बाबुराम घिमिरेले भने, पैसा लुटिने र चोरी हुने त्रास हटेको छ ।
अमेरिकामा रहेको वाङलाका अमृत भण्डारीले रेमिट्यान्सको भर पर्नु भनेको खहरे खोलाको पानीमा विजुली बाल्नु जस्तै भएको बताए । उनले रेमिट्यान्स धेरै आयो भनेर मख्ख पर्नुपर्ने अवस्था छैन यसले देशलाई बर्वादीतफै लगेको छ आफनै देशमा रोजगारी र मुद्रा आर्जनको लागि सरकारले विदेशमा युवा पठाउन बन्द गरेर आफनै देशमा श्रम गराउनुपर्ने बताए ।