भाडा बृद्धि नगर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

सरकारको तर्फबाट यातायात मन्त्रालयले सार्वजनिक यातायातका साधनहरुको भाडादर बढाउन दिएको अनुमुतिलाई तत्काल रोक्न प्रधानमन्त्री सुशील कोइरालाले यायायात व्यवस्था मन्त्रीलाई निर्देशन दिएका छन्।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा भाग लिन बिहिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री कोइरालासँग सार्वजनिक सवारी साधानको भाडा बृद्धिबारे गुनासो गरेलगत्तै कोइरालाले यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिलाई फोनमार्फत त्यस्तो निर्देशन दिएका हुन।
एमाओवादी उपाध्यक्ष श्रेष्ठका अनुसार आफूले कोइरालासँग अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेको अवस्थामा पनि नेपालमा सरकारी निकायले यातायात व्यवसायीलाई भाडा बृद्धि गर्ने अनुमति दिनु गलत भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका थिए।
पेट्रोलियम पदार्थको मूल्यमा कमि आइरहेको अवस्थामा पनि सरकार र व्यवसायीले सार्वजनिक सवारी साधनको भाडा बढाएमा आन्दोलनमा जान बाध्य हुने चेतावनी आफूले कोइरालालाई दिएको श्रेष्ठले बताए।
यसबारेमा प्रधानमन्त्रीजीले आफूलाई कुनै जानकारी नभएको भन्दै त्यहिबाट यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीलाई फोनगरी भाडा बृद्धि नगर्न निर्देशन दिनु भयो, श्रेष्ठले भने।
आफ्नो गृहजिल्ला धनषाबाट राजधानी फर्कने क्रममा रहेका मन्त्री निधीसँग प्रधानमन्त्री कोइरालाले सवारी साधनको भाडा किन बढाउने निर्णय गरेको भनि प्रश्न गरेका थिए।
जवाफमा मन्त्रीले ऐनमा व्यवस्था भएअनुसार यातायात व्यवस्था विभागको सहमतिमा मूल्यमा गरिवाट आउनु पूर्व नै भाडादर बृद्धिका लागि सहमति दिएको भएपनि दशैं तिहारजस्ता चाडपर्व अगाडि उक्त निर्णय कार्यान्वयनमा नआएको भन्दै आफू राजधानी फर्केपछि यसबारेमा उपयुक्त निर्णय लिने जानकारी प्रधानमन्त्रीलाई दिएका थिए।
संसदको उद्योग बाणिज्य तथा उपभोग्ता हित संरक्षण समिति मातहतको एक उपसमितिले बुधबारमात्रै सरकारलाई सार्वजनिक सवारी साधनको भाडा बृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो। setopati