काठमाडौं, कार्तिक १८ । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आगामी पुस महिनादेखि कृषि क्षेत्रमा नयाँपन देखिने ठोकुवा गरेका छन् । सोमबार राजधानीमा भएको साक्षात्कारमा मन्त्री पराजुलीले पुससम्म कृषि क्षेत्र परिणाममुखी हुने बताउँदै नेपालका युवाहरु वैदेशिक रोजगारमा जान नपर्ने दाबी नै गरेका हुन् ।
उनले विदेश जान टिकट काटेर ठिक्क परेका युवाहरु पनि पुसपछि नेपालमै बस्ने गरी सरकारले त्यस अनूरुपको कार्यक्रम बनाएको बताए ।
मन्त्री पराजुलीले सरकारले खर्च गर्न सक्ने गरी कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै यस सम्बन्धी नीती तथा कार्यक्रम पनि कृषि क्षेत्र उत्पादनमुखी र परिणाममुखी बनाउने गरी ल्याइएको समेत उल्लेख गरे ।
मन्त्री पराजुलीले यस क्षेत्रको प्रवद्र्धनका लागि सरकारले ६ प्रतिशतको सहुलियत दरमा किसानहरुलाई ऋण उपलब्ध गराउने कार्यक्रम अनुसार सबै वाणिज्य बैंकहरुले आफ्ना शाखाहरुलाई परिपत्र जारी गरिसकेको समेत बताए ।
धान, गहुँलगायतका उपभोग्य वस्तुको समर्थन मूल्य निर्धारण गरेर बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको पनि मन्त्री पराजुलीले जानकारी गराए ।
किसानहरुले ३२ हजारदेखि १ लाखसम्म सहुलियत पाउने जानकारी दिँदै उनले देशभरीका जिल्ला कृषि कार्यालय र पशु सेवा कार्यालय मार्फत सेवाग्रहीहरुलाई सहुलियतबारे सूचना उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिइसकेको पनि बताए ।
IMAGEKHABAR