कांग्रेस-एमालेसँग दुई तिहाई बहुमत छ भनेर नडराउन एकीकृत माओवादीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कार्तिक १९ । प्रधानमन्त्री सुशील कोइरालाले आफूहरुले सहमतिबाटै संविधान जारी गर्न चाहेको भन्दै कांग्रेस-एमालेसँग दुई तिहाई बहुमत छ भनेर नडराउन एकीकृत माओवादीलाई आग्रह गरेका छन् । आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग उनले समयमै संविधान जारी गर्नका लागि अन्तिम समयसम्म प्रयास गरिने बताए ।
दुई तिहाई बहुमतकै आधारमा कांग्रेस-एमाले अघि बढेको भए अहिलेसम्म संविधान जारी भइसकेको हुने भन्दै उनले आफूहरुले सहमतिकै प्रयास गरिरहेको समेत बताए ।
अहिलेको समय आन्दोलनको नभएको भन्दै प्रधानमन्त्री कोइरालाले संवादको माध्यमबाट समाधान खोज्न एकीकृत माओवादीलाई आग्रह गरे ।
प्रधानमन्त्रीसँगको भेटमा विद्यार्थी संगठनका प्रतिनीधिहरुले केही व्यक्तिहरु भ्रष्टाचारको आरोपमा मुछिएका कारण विश्वविद्यालयहरुमा असर परेको, पेट्रोलियम पदार्थको मूल्य घटेपनि यातायात भाडा समायोजन नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । IMAGEKHABAR