एकीकृत माओवादीका प्रचण्डलाई धम्क्याउँदै हिंड्न छाडेर सहमतिमा आउन कांग्रेस र एमालेको आग्रह

काठमाडौं, कार्तिक २३ । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले लगायतले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्क्याउँदै हिंड्न छाडेर सहमतिमा आउन आग्रह गरेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी माघ ८ भित्रै संविधान जारी गर्नका लागि सहमतिमा आउन आग्रह गरेका हुन् ।
नेताद्वयले विपक्षीहरु सहमतिमा नआए विधि र प्रक्रिया अनुसार अघि बढेर संविधान जारी गर्ने पनि स्पष्ट पारे । सहमतिका लागि गरेका अथक प्रयासहरु सफल नभएपछि  संविधानका विवादित विषयमा साझा धारणा बनाएर अघि बढेको भन्दै प्रधानमन्त्री कोइराला र अध्यक्ष ओलीले आफुहरु साझा अवधारणा अनुसार नै अघि बढ्ने पनि स्पष्ट पारे ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले धम्क्याउँदै हिंडेको भन्दै प्रधानमन्त्री कोइरालाले धम्कीको भाषाले उनलाई नै नोक्सान हुने पनि बताए । त्यसैगरी एमाले अध्यक्ष ओलीले दाहालले ट्रयाक छाडेर बाहिर गएको भन्दै कुनै एक जना ब्यक्तिको चित्त बुझाउनका लागि देशलाई अन्योलग्रस्त अवस्थामा पुर्‍याउन नसकिने बताए ।
संयुक्त पत्रकार सम्मेलनमा सत्ताको तस्रो घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहोरा तथा बहुजन समाजवादी पार्टीका अध्यक्ष विश्वेन्द्र पाशवान र स्वतन्त्र सभासद्द्वय चन्द्रदेव झा र अतहर कमाल मुशलमान पनि सहभागी थिए  ।
पत्रकार सम्मेलनमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विवादित विषयमा भएको ९ बूँदे सहमति पनि सार्वजनिक गरिएको थियो ।
जस अनुसार पहिचान र सामथ्र्यमा आधारित ७ प्रदेशको संघीय संरचना र संसदबाट निर्वाचित तर दुइ बर्षसम्म अविश्वास प्रस्ताव लैजान नपाईने कार्यकारी प्रधानमन्त्रीसहितको शासन प्रणाली रहेका छन् ।
यस्तै प्रत्यक्ष निर्वाचित १ सय ६५ सदस्यीय प्रतिनिधि सभा, पूर्ण समानुपातिक आधारको ७५ सदस्यीय राष्ट्रिय सभा र एक सदनात्कम प्रदेश सभा रहने निर्वाचन प्रणाली पनि साझा अवधारणामा उल्लेख रहेको छ ।  IMAGEKHABAR