काठमाडौं, कार्तिक २७ – सरकारले सार्क शिखर सम्मेलनका बेला राजधानीमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर ११ र १२ गते उपत्यकामा दुई दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सार्क सम्मेलनका दिन मंसिर ११ र १२ मा ट्राफिक अस्तव्यस्त भई सर्वसाधारणले सास्ती भोग्नुनपरोस् भनेर दुई दिन बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दिएका छन् ।
उनका अनुसार यसअघि पनि सार्क सम्मेलनका क्रममा सरकारले उपत्यकामा बिदा दिने गरेको थियो । सम्मेलनका बेला ट्राफिक व्यवस्थापनलाई सहज बनाई सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूको सवारी चलाउनका लागि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले दुई दिन बिदा दिनेलगायतका निर्णय गरेको हो ।
सरकारले गृह मन्त्रालयको प्रस्तावमा सम्मेलनका बेला ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाभरका सार्वजनिक तथा निजी विद्यालयमा मंसिर ९ देखि १२ सम्म चार दिन बिदा दिएको छ । सम्मेलनका क्रममा ट्राफिक अस्तव्यस्त भई स्कुल बस र विद्याथीहरू आवतजावत गर्न कठिनाइ हुने भएकाले चार दिन बिदा दिने निर्णय गरेको जानकारीसमेत मन्त्रिपरिषदका एक अधिकारीले दिए ।
सरकारले सार्क शिखर सम्मेलनका क्रममा चार दिन (मंसिर ९ देखि १२ सम्म) उपत्यकामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरकारीबाहेक अरू सम्पूर्ण साधन एक/एक दिन गरी जोर र बिजोर नं.का गाडी चलाउन दिने निर्णयसमेत गरेको छ । कुन दिन जोर र कुन दिन बिजोर नं.का गाडी चलाउन दिने भन्ने निर्णय गरी ट्राफिक कार्यालयले सार्वजनिक सूचना जारी गर्ने जानकारी गृह मन्त्रालयका अधिकारीले दिए ।
EKANTIPUR