– वीरेन्द्र केसी
धरमपानी, अर्घाखाँची – बजेट निकासा नहुँदा तीन वर्षअघि निर्माण सुरु गरिएको खानेपानी योजना अलपत्र भएको छ । पानी अभावमा धरमपानीका बासिन्दा काकाकुल बन्न पुगेका छन् ।
योजनाको दोस्रो किस्ताको रकम नआउँदा लिफ्ट प्रविधिबाट पानी ल्याउने योजना पूरा हुन नसकेको हो जसले गर्दा १ सय ६५ घरधुरीका गाउँले एक घन्टा पानी लिन घन्टौं खर्च गर्न बाध्य छन् । दैलोमा पानी झर्ने आशामा करिब २९ लाखको जनश्रमदान गरेका गाउँले निराश छन् ।
झन्डै ५ किलोमिटर तलको बाँगीखोलाबाट गाउँमा पानी तान्ने योजना छ महिनादेखि रोकिएको छ, भट्टे खोरिया खानेपानी उपभोक्ता समिति अध्यक्ष कृष्णराज आचार्यले भने, दोस्रो किस्ताको रकम नआउँदा योजना नै ठप्प भएको हो । ट्यांकी पनि आधा निर्माणमै रोकिएका छन् ।
दातृ निकाय फन्डबोर्ड र पहाडी स्रोत व्यवस्थापन समूह (एमआरजी) ले दोस्रो किस्ताको रकम भुक्तानी नगर्दा योजनाको काम बीचमै रोकिएको हो । ५ वटा ट्यांकी निर्माणाधीन अवस्थामा छन्, उनले भने, कुल १ करोड ५ लाख बजेटमध्ये पहिलो किस्ताको ७२ लाखले ट्यांकी र पाइपलाइनको काम सकियो, दोस्रो किस्ताको बाँकी रकम समूहले भुक्तानी नगर्दा काम अगाडि बढाउन सकिएन । समूह अध्यक्ष दुमन थापाले उपभोक्ताबाट चेक लगेर नगद भुक्तानी नदिएकाले काम रोकिएको आचार्यले बताए ।
बारम्बार आग्रह गर्दा थापाले बेवास्ता गर्दा योजना अलपत्र परेको उपभोक्ता समितिको आरोप छ ।
ट्यांकी निर्माण गरेपछि पाइप बिछ्याएर खोलाबाट पानी तान्ने काम ठप्प छ । पानीका लागि धेरै दुःख गरियो, स्थानीय उपभोक्ता कुशल भुसालले भने, २०६४ सालमा किमडाँडाको भटे खोरिया मुहानबाट ल्याउन खोजियो, त्यहाँ खेतवालाले विरोध गरेपछि योजना असफल भयो ।
थापाका अनुसार योजनाको काम सुरु हुने छ र अलपत्र पर्ने छैन । उनले छिट्टै धारामा पानी खस्ने तयारीमा रहेको बताए ।