विकिलिक्सका असान्जविरुद्ध पक्राउआदेश कायमै रहेको स्वीडेनको अदालतद्धारा प्रष्ट

विश्वका विभिन्न देशका गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएका विकिलिक्सका संस्थापक जुलियन असान्जविरुद्ध पक्राउआदेश कायमै रहेको स्वीडेनको अदालतले प्रष्ट गरेको छ ।
असान्जले आफूविरुद्ध पक्राउपूर्जी जारी नगर्न गरेको पुनरावेदनमा स्वीडेनी अदालतले माग अस्वीकार गर्दै पक्राउपूर्जी जारी नै रहेको जनाएको हो । यौन दुराचारको आरोपसहितको पक्राउपूर्जी जारी गरिएकोमा असान्जले आफूमाथिको आरोपको खन्डन गर्दै आएका छन् ।
विश्वभरको गोप्य दस्तावेज सार्वजनिक गर्दै चर्चा बटुलेको विकिलिक्सले आगामी वर्षमा अरु १० लाख गोप्य दस्तावेज सार्वजनिक गर्ने घोषणा समेत गरेको छ । ती गोप्य दस्तावेजबाट विश्वका कुनैपनि राष्ट्र अछुतो नरहने विकिलिक्सको दाबी छ ।
विश्वशक्ति राष्ट्र अमेरिकादेखि थुप्रै देशका गोप्य दस्तावेज सार्वजनिक गरेर तहल्का मच्चाएका असान्जमाथि स्वीडेनमा दुई महिलाको यौनशोषण गरेको अभियोग लगाइएको थियो । जसका कारण उनी कैयौं दिन लुक्दै हिँडेका थिए ।
सन् २०१० मा बेलायतमा पक्राउ परेका उनलाई स्वीडेन सुपुर्दगी गर्ने प्रक्रिया अघि बढेपछि असान्ज लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिन पुगेका थिए । (एजेन्सी)