सार्क शिखर सम्मेलनका सरकार प्रमुखहरू धुलिखेलस्थित द्वारिका रिसोर्टमा “रिट्रिट”

काठमाडौं , मंसिर ११ – सार्क शिखर सम्मेलनका सरकार प्रमुखहरू बिहीबार धुलिखेलस्थित द्वारिका रिसोर्टमा रिट्रिट सहभागी भएका छन। 
अंग्रेजी अल्फाबेटअनुसार देशका प्रमुखहरूलाई बिहान ८:१५ बजेदेखि एयरपोर्ट अतिविशिष्ट कक्षमा र त्यसपछि नेपाली सेनाको ‘सुपर कोमा’ हेलिकप्टरमा राखेर रिसोर्टमा लगिनेछ । रेल-वे, ऊर्जा र यातायातमा हालसम्म नभएको सम्झौता ‘रिट्रिट’ मा हुन सक्नेछ । 
सरकार प्रमुखहरू करिब १० बजेसम्म रिसोर्टमा पुगिसक्ने छन् । त्यहाँ सबैलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नेछन् । आठै देशका सरकार प्रमुखहरूले आपसी कुरा गरी फोटोसेसन गर्नेछन् । उनीहरू त्यहीं लन्च गरेर करिब २ बजे फेरि एयरपोर्ट हुँदै करिब ४ बजे राष्ट्रिय सभागृहमा समापन समारोहमा सहभागी हुन आइपुग्नेछन् । 
लगत्तै समापन समारोहको सुरुआत हुनेछ । करिब आधा घन्टाको समापन समारोहमा घोषणा पत्र जारी गरेपछि फोटो सेसन हुनेछ । त्यसपछि उनीहरू होटलमा फर्कर्नेछन् । बेलुकी ६-७ बजेसम्ममा राष्ट्रपति रामवरण यादवले दिएको रात्रिभोजमा सरिक हुन सरकार प्रमुखहरू राष्ट्रपति भवन शीतल निवासमा आइपुग्ने कार्यक्रम छ । नौ बजेपछि रात्रिभोजबाट उनीहरू बिदाइ हुनेछन् ।
ekantipur