सार्क मुलुकका कार्यकारी प्रमुखहरूले सार्क क्षेत्रलाई ‘आतंकवाद शून्य’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राजधानीमा बुधबार सुरु १८ औं सार्क शिखर सम्मेलन उद्घाटनमा बोल्दै आठै देशका कार्यकारी प्रमुखले आतंकवाद विकासको प्रमुख बाधक भएको बताउँदै त्यसलाई निर्मूल पार्न संयुक्त पहलको आवश्यकता औंल्याए ।
सार्क क्षेत्रको शान्ति र समृद्धिका लागि एकीकृत र अर्थपूर्ण साझेदारीमा कार्यकारी प्रमुखहरूको एकमत देखियो । सम्मेलनको नारा नै ‘शान्ति र समृद्धिका लागि गहन एकता’ हो । उनीहरूले परिणाममुखी ऐक्यबद्धता, दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता -साफ्टा)को कार्यान्वयन, सार्क संयन्त्रहरूको सुदृढीकरण, अन्तरदेशीय ढुवानी र आवागमनमा सहजतालगायत मुद्दामा जोड दिए । बहुआयामिक गरिबी घटाउन कृषि, स्वास्थ्य, सरसफाइ र महिला सशक्तीकरणलाई उच्च प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो । उद्घाटन सम्बोधनका क्रममा उनीहरूले यातायात सञ्जाल, रेल, हवाई सेवा र ठूला आयोजना विकासबारे धारणा राखे । साझा स्वार्थ्ा पूरा गर्न अविश्वास हटाउनुपर्ने सबैको राय रह्यो । सार्कलाई १५ वर्षभित्र आर्थिक युनियनको रूपमा स्थापित गराउन पूर्वाधारका काम अघि बढाउनुपर्ने उनीहरूले बताए ।
सार्क सचिवालयलाई बलियो र प्रभावकारी तुल्याएर अघि बढ्न सबैको सहमति देखियो । पाकिस्तानले पर्यवेक्षक राष्ट्रहरूको भूमिका सन्तोषजनक भएकाले उनीहरूसँगको सहकार्यलाई बलियो पार्नुपर्ने धारणा राख्यो ।
सम्मेलनको आयोजना र विशेष आतिथ्यका लागि सबै कार्यकारी प्रमुखले प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई विशेष धन्यवाद एवं बधाई व्यक्त गरे । सार्क महासचिव अर्जुनबहादुर थापाले सत्रौं सम्मेलनदेखि अहिलेसम्मको क्रियाकलाप विश्लेषण गर्दै सार्क सचिवालयको भूमिका र स्तरोन्नतिबारे ध्यानाकर्षण गराए ।
सुशील कोइराला, सार्क अध्यक्ष एवं प्रधानमन्त्री, नेपाल
दक्षिण एसियामा समान विकासका लागि सबल, एकीकृत एवं अर्थपूर्ण एकता अपरिहार्य छ । शिखर सम्मेलनको मुख्य नाराले यसलाई स्पष्ट पारेको छ । सार्कलाई प्रगति पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक छ । यस क्षेत्रका जनतामाझ पहिले गरिएका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा ल्याउन सबैले आफ्नो मतभेद त्यागेर सहकार्यको हात अघि बढाउनुपर्छ । विश्वास र इमानदारिताले नै यो क्षेत्रलाई माथि उठाउँछ । व्याप्त आतंकवाद र उग्रवादलाई सम्बोधन गर्नुपर्छ । गरिबी, भोकमरी, आतंकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थ ओसारपसार नियन्त्रणमा सदस्य मुलुकले सामूहिक पहल गर्नुपर्छ । नेपाल स्वयं जहानियाँ शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ र अहिले संविधान लेखन प्रक्रियामा छ । यही बीचमा हामी क्षेत्रीय एकता र विकासनिम्ति प्रतिबद्ध र अग्रसर छौं । संविधानसभाबाटै समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सरकार क्रियाशील छ ।
नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत
समृद्धशाली सार्क क्षेत्रका लागि सुरक्षित दक्षिण एसिया आवश्यक छ । हामी एकअर्कासँग जोडिने भनिरहँदा म काठमाडौं सडक मार्गबाट आउन खोजें । त्यसले भारतीय सुरक्षा अधिकारीको टाउको दुख्ोको थियो । अब यस्तो अवस्थाबाट माथि उठ्न शान्तिको परिकल्पनामा जोड दिन आवश्यक छ । एक-अर्काका सुरक्षा चिन्ता र चासोलाई समुचित सम्बोधन गर्न सदस्य देशबीच प्रगाढ, गहन एवं विश्वासपूर्ण मित्रभाव वर्तमान आवश्यकता हो । शान्ति र समृद्धिका लागि हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्न सक्नुपर्छ । छिमेकीका सुख-समृद्धिमा रमाउने र दुःख-विपत्तिका बेला सघाउने भारतको नीति र चरित्र हो । शिक्षा, स्वास्थ्य, दैवी विपत्ति, स्रोतसाधनको व्यवस्थापन, विज्ञान प्रविधि र सूचना तथा सञ्चारका क्षेत्रमा सदस्य राष्ट्रसँग सहकार्य गर्न भारत सधैं तत्पर छ ।
सदस्य मुलुकहरूको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउन हामीले जोड दिनुपर्छ । सहकार्य र सहयोगबाटै ३० वर्ष अगाडि सार्कले निर्धारण गरेको उद्देश्य र लक्ष्य हासिल गर्न सकिन्छ । सँगै भएर मात्र हुँदैन, नजिक पनि हुनुपर्छ । समग्र विकासका निम्ति व्यापार, लगानीसहित हरेक क्षेत्रका विभिन्न तहमा पारस्परिक सहयोग अपरिहार्य छ । छिमेकका गाउँ र सहर उज्यालो पार्न सके मात्र हाम्रो भविष्य समुज्ज्वल छ । त्यसैले विश्वको अँध्यारो भागका रूपमा नरहन सौर्य र स्वच्छ ऊर्जाका क्षेत्रमा सामूहिक ढंगले अघि बढौं । पछिल्लोपटक भारत र नेपालबीच ऊर्जा क्षेत्रको प्रवर्द्धनमा नयाँ युग प्रारम्भ भएको छ ।
बौद्ध सर्किटको विकास, क्षेत्रीय पर्यटन प्रवर्द्धन, जनस्तरको सम्पर्क एवं जल, स्थल र आकाशमार्गको सञ्जाल विस्तार आजका महत्त्वपूर्ण आवश्यकता हुन् । भौतिक पूर्वाधार निर्माणमा भारत नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार छ । अन्यत्र मुलुकमा यात्रा सहज र सरल छ । तर हाम्रै कारणले सार्क मुलुकका उत्पादन घुमाउरो र लामो मार्ग भएर एक-अर्काका बजारमा पुग्दा उच्च मूल्यले उपभोक्ता मारमा परेका छन् । त्यसैले साफ्टाको कार्यावन्यन जरुरी छ ।
…
नवाज सरिफ, प्रधानमन्त्री, पाकिस्तान
दक्षिणा एसियालाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोग अपेक्षित छ । सार्कको विकासनिम्ति यो संगठनलाई अन्य संगठनसँग जोड्न आवश्यक छ । विश्वको आर्थिक शक्ति भएर अग्रसर मुलुकलाई पनि यस क्षेत्रमा भूमिका दिन सक्नुपर्छ । ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराअनुसार अगुवाइ र अग्रसरता जरुरी छ । विगतका सबैखाले आपसी तिक्ततालाई मेटाउनुपर्छ । सबैको साझा समस्याका रूपमा रहेको आतंकवाद र गरिबी निवारण मुद्दामा ऐक्यबद्ध रूपमा लाग्नुपर्छ । सामाजिक एवं आर्थिक रूपान्तरणका लागि महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षामा पहुँच एवं सुधार गर्नेतर्फ सार्कका आगामी कार्यक्रमलाई लक्षति गर्नुपर्नेछ ।
युवा शक्तिलाई सम्बोधन गरी उनीहरूको भविष्य उज्ज्वल बनाउनेतर्फ लाग्नुपर्छ । ग्रामीण क्षेत्र, मानव संसाधन एवं स्रोतका साथै विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्छ । सीमा क्षेत्रमा हुने विविध क्रियाकलापको आपसी सूचना आदानप्रदाननिम्ति सहकार्य हुनुपर्छ । ऊर्जा क्षेत्रको विकास र आपसी उपलब्धतामा जोड दिन आवश्यक छ ।
…
महिन्दा राजापाक्षे, राष्ट्रपति, श्रीलंका
समृद्ध र शान्तिपूर्ण दक्षिण एसिया निर्माण गर्न सार्क क्षेत्रका सरकार र जनताले सामूहिक रूपमा अघि बढ्न आवश्यक छ । विद्यमान जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको अधिकतम उपयोग, श्रम आप्रवासन, आतंकवादजस्ता प्रमुख विषयको सम्बोधनका लागि अहिलेको प्रयासले मात्र नपुग्ने हुनाले त्यसलाई दोब्बर बनाएर अघि बढ्नुपर्छ ।
ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धका कारण यस क्षेत्रका जनताबीच गहिरो आत्मीयता छ । यसैले यस क्षेत्रलाई बुद्ध सर्किट बनाएर रेलमार्ग वा सडकबाट जोड्न सक्नुपर्छ । आवतजावतमा समस्या हुँदा आमजनता पीडामा छन् । १ अर्ब ६० करोड मानिस बसोबास गर्ने यस क्षेत्रको ठूलो जनसंख्या गरिबीको रेखामुनि छ । यस क्षेत्रका जनताको जीवनस्तर उकास्न हामीले अब बढी नतिजामुखी कामहरूमा ध्यान दिनुपर्छ ।
श्रीलंकाले सन् २००९ मा आतंकवादलाई परास्त गरेयता ६ प्रतिशतभन्दा बढीको दरले आर्थिक वृद्धि गरिरहेको छ । यस प्रगतिलाई कायम राख्न र क्षेत्रीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्न श्रीलंका तयार छ । हामीले पारस्परिक लाभका आधारमा सम्बन्धलाई अझ बढावा दिनु आवश्यक छ । हवाई सेवा निर्बाध रूपमा सञ्चालन गर्नुपर्छ । ऊर्जा विकासमा साझेदारी बढाउनुपर्छ । युवाको सीप विकाससम्बन्धी कार्यक्रमलाई बढावा दिन आवश्यक छ ।
…
शेख हसिना वाजेद, प्रधानमन्त्री बंगलादेश
सार्क क्षेत्रको विकासमा पहिलो बाधक गरिबी हो । खाद्य पोषण सुरक्षा पनि हाम्रा लागि चुनौती हो । बंगलादेशको पछिल्ला पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा बढी छ । बंगलादेश सार्क क्षेत्रमा गहन सहकार्यका लागि तयार छ । हामी विश्वव्यापी मान्यतामा अगाडि बढेका छौं । सहकार्यले नै हामीलाई अघि बढाउन सक्छ । खाद्य पोषण सुरक्षाका लागि हामीले कृषिको विकास गर्न सक्छौं । हामीले क्षेत्रीय, उपक्षेत्रीय र द्विदेशीय रूपमा सहकार्य गर्दै ऊर्जा विकास गर्नुपर्छ । स्रोतसाधनको उचित प्रयोग नै अहिलेको प्रमुख आवश्यकता हो । ‘फिजिकल कनेक्टिभिटी’ द&