काठमाडौं, मंसिर १४ । निर्वाचन आयोगका पदाधिकारीले आयोगलाई स्वायत्त र स्वतन्त्र निर्वाचन व्यवस्थापन गर्ने निकायको अधिकार प्रदान गर्न सरकारसँग माग गरेका छन् ।
दुई दिनदेखि राजधानीमा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध आठ राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (फेम्बोसा) को समापनपछि आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोग संवैधानिक रुपमा स्वायत्त र स्वतन्त्र भए पनि आर्थिक र मानव श्रोतमा सरकारको नियन्त्रण रहेको र निर्वाचनको मिति तोक्ने अधिकार पनि सरकारलाई भएकाले संवैधानिक रुपमा दिइएको स्वतन्त्र र स्वायत्तताको अनुभूति गर्न नपाइएको बताए ।
फेम्बोसाको पाँचौं बैठकले पनि दक्षिण एशियाका निर्वाचन आयोगलाई स्वायत्त र स्वतन्त्र बनाउन पहल गर्ने निर्णय गरेको छ ।
दक्षिण एशियाका निर्वाचन व्यवस्थापन गर्ने निकायहरु पूर्ण रुपमा स्वतन्त्र र स्वायत्त नभएको निष्कर्ष निकाल्दै फेम्बोसाले त्यसका लागि दक्षिण एशियाका लागि एउटै मापदण्ड बनाएर लागू गर्न दक्षिण एशियाका सरकारसँग पहल गर्ने भएको छ ।
IMAGEKHABAR