इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सन् २०११ मा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीको हत्या आरोपबाट एक अदालतले मुक्त गरेलगत्तै कायरोको तहरीर चोकमा प्रदर्शन गरिएको छ ।
प्रहरी कार्वाहीमा एक जना मारिएको खबर छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको छ । फैसलालगत्तै मुबारकले आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका छन् । प्रदर्शनमा करिब दुई हजार व्यक्ति मात्र उत्रिएपनि यसलाई ठूलो साहस मानिएको छ ।
मुबारकका शासन कालका अरु सात वरिष्ठ सुरक्षा अधिकारीलाई पनि निर्दोष ठहर गर्दै अदालतले उनलाई ग्यांस निर्यातको भ्रष्टाचार मुद्दामा पनि सफाइ दिएको छ । मुबारक अहिले सरकारी कोषको दुरुपयोग गरेको मुद्दामा तीन वर्षे कारावासमा छन् ।
इजिप्टमा ३ दशकभन्दा बढी समय शासन गरेका मुबारक सन् २०११ मा भएको शक्तिशाली प्रदर्शनपछि सत्ता छाड्न बाध्य भएका थिए । उक्त प्रदर्शनका क्रममा करिब ८ सय जना मारिएका थिए ।
AGENCIES