सत्तारुढ एमालेले सरकारमा आउन मधेसवादी दललाई औपचारिकरुपमै प्रस्ताव

काठमाडौं, मंसिर १५ – सत्तारुढ एमालेले सरकारमा आउन मधेसवादी दललाई औपचारिकरुपमै प्रस्ताव राखेको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा आउन औपचारिक प्रस्ताव राखेका छन् । मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने अडान एमालेलाई स्मरण गराएको छ ।
राष्ट्रिय सहमति नभए माघ ८ गते संविधान जारी हुन नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले मधेसवादी दलका नेताहरुलाई राष्ट्रिय सहमतिको सरकारका लागि आहृवान गरेका हुन् ।
बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले सरकारको शब्द उच्चारणसमेत नगर्ने बताए । ‘हामीले एमालेले राखेको राष्ट्रिय सहमतिको सरकारको एजेन्डा सुरुमै खारेज गर्‍यौं,’ उनले ईकान्तिपुरसित भने, ‘संविधान निर्माण नभएसम्म सरकारको ‘स’ पनि उच्चारण गर्दैनौं ।’
बैठकमा एमालेले संविधानका प्रमुख विवादित संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमतिका लागि लचिलो हुन मधेसवादी दललाई आग्रह गरेको महतोले बताए ।
‘हामीले संविधानका अन्तरवस्तुमा आवश्यक छलफल गर्न तयार छौं भन्यौं,’ उनले भने, ‘तर जसरी बहुमतको अहंकार देखाएर शीर्ष नेताहरु नै हस्ताक्षर अभियानमा उत्रनुभएको छ, यसले वातवरण बिगारेको छ ।’
EKANTIPUR