काठमाडौं, मंसिर १७ – संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दलहरुले दिएको जिम्मेवारीअनुसार तटस्थ भएर काम गर्ने बताएका छन् ।
गतिरोध अन्त्यका लागि प्रमुख दलहरुले ‘स्वविवेक अधिकार प्रयोग गर्न’ दिएलगत्तै बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर भट्टराईले तटस्थ भूमिका निभाउने प्रतिबद्धता जनाए । ‘यसो गर्नुस् भनेर मेरो पार्टीले पनि र अन्य राजनीतिक दलहरुले भन्ने नै भए,’ उनले भने, ‘तर सभापतिको हैसियतमा तटस्थ भएर काम गर्छु ।’
भट्टराईले आफ्नो निष्पक्षतामा प्रश्न उठाएका राजनीतिक दहरुले नै स्वविवेक प्रयोग गर्ने अधिकार दिएर विश्वासको वातावरण तयार पारेको बताए । ‘मेरो निश्पक्षतामा प्रश्न उठाएका दलहरुले नै जिम्मा दिनुभएको छ,’ उनले भने, ‘यसले विश्वासको वातावरण पैदा भएको छ ।’
भट्टराईले सबैलाई चित्तबुझ्दो निर्णय गर्न भने चुनौतिपूर्ण रहेको बताए । उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर रहेकाले बुधबार नै निर्णयमा पुग्न नसकिएको बताए । ‘उहाँहरुलाई चित्तबुझ्ने निर्णय गरेर भोलि नै प्रतिवेदन पठाउँछु,’ उनले भने ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सभापति भट्टराईलाई नियमावलीको परिधिभित्र रहेर स्वविकेक प्रतिवेदन पठाउने अधिकार दिएको बताएका छन् । संवाद समितिको बैठकपछि सिंहदरवारमा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । ekantipur