गठबन्धन सरकारमा संकट आएपछि इजरेलमा समय अगावै निर्वाचन हुने लक्षण

गठबन्धन सरकारमा संकट आएपछि इजरेलमा समय अगावै निर्वाचन हुने लक्षण देखिएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेललाई हाँक्नसक्ने बलियो नेतृत्व जरुरी रहेकाले आफू संसद विघटन गर्ने पक्षमा रहेको भन्दै आमचुनावका लागि तयार रहन जनतालाई अपील गरेका हुन् ।
गठबन्धन संस्कारविपरीत रहेको र देश हीतमा काम नगरेको आरोपमा अर्थ र न्यायमन्त्रीलाई बर्खास्त गर्दै उनले बलियो सरकार निर्माणका लागि मध्यावधि निर्वाचन जरुरी रहेको जिकिर गरे ।
अर्थमन्त्री ऐर लापिड र न्यायमन्त्री टिजिपी लिभ्नीलाई पदबाट हटाएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले स्पष्ट जनादेशका साथ इजरेलको नेतृत्व गर्न निर्धारित समयभन्दा दुई वर्ष अगावै चुनाव गर्ने मनस्थितिमा आफू पुगेको बताएका हुन् ।
पूर्ण समानुपातिक प्रतिनिधित्व रहने १२० सीट संख्याको इजरेली संसदमा नेतान्याहुको दल लिकुडसँग जम्मा ३१ सीट मात्र छ । बर्खास्त गरिएका लापिडसँग १९ सीट रहेको छ । इजरायलमा सन् २०१३ को जनवरीमा मात्र निर्वाचन भएको थियो । (एजेन्सी)