अख्तियारले साना भ्रष्टाचारका मुद्दा मात्र हेरिरहेको भन्ने आरोपलाई लोकमानसिंह कार्कीद्धारा अस्वीकार

काठमाडौं, मंसिर १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अख्तियारले एक हजारजना ठूला व्यक्तिहरुको सम्पत्तिबारे छानबिन गरिरहेको बताएका छन् । व्यवस्थापिका संसदको सुशासन समितिमा शुक्रबार उपस्थित भएका कार्कीले अख्तियारले साना भ्रष्टाचारका मुद्दा मात्र हेरिरहेको भन्ने आरोपलाई अस्वीकार गरे ।
उनले ठूला भ्रष्टाचारीलाई पनि नछाड्ने अख्तियारको नीति रहेको पनि स्पष्ट पारे । प्रमुख आयुक्त कार्कीले ठूला भनिने व्यक्तिहरुले परिवारका सदस्यहरुको नाममा समेत सम्पत्ति राख्न छाडिसकेको भन्दै उनीहरुको सम्पत्ति कहाँ छ भन्ने टुंगो लगाउनु ठूलो चुनौती भएको उल्लेख गरे ।
प्रमुख आयुक्त कार्कीले अख्तियारले त्रिभुवन र अन्य विश्वविद्यालयमा भएको भ्रष्टाचारबारे पनि छानबिन गरिहेको जानकारी दिए । अधिकांश कर्मचारी अख्तियारमा आउन नमान्ने गरेको अनुभव सुनाउँदै उनले आइहाले पनि उनीहरुलाई काममा टिकाइराख्न मुस्किल हुने बताए ।
अन्य समितिमा जान अटेर गर्दै आएका कार्की शुक्रबार संसदको सुशासन समितिमा उपस्थित भएका हुन् । IMAGEKHABAR