प्रधानमन्त्री सुशील कोइरालाद्धारा दलहरुबीच सहमति नबने प्रक्रियामा गएर भएपनि माघ ८ गतेभित्रै संविधान जारी हुने दाबी

काठमाडौं, मंसिर २० । प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच सहमति नबने प्रक्रियामा गएर भएपनि माघ ८ गतेभित्रै संविधान जारी हुने दाबी गरेका छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रक्रिया अघि बढाउन नमिल्ने गरी संविधानसभामा प्रतिवेदन पठाएको भोलिपल्ट प्रधानमन्त्री कोइरालाले प्रक्रियामा गएरै भएपनि माघ ८ भित्रै संविधान जारी हुने दाबी गरेका हुन् ।
११ औं ज्यापू दिवसको अवसरमा शनिबार राजधानीको बसन्तपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कुनै नगारिकले पनि अपमानित हुनु नपर्ने गरी संविधान आउने जिकिर समेत गरे ।
प्रधानमन्त्री कोइरालाले नेपालमा धेरै राजनीतिक लडाइँ हुने गरेको भन्दै अब सबैले आर्थिक सम्बृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा पनि जोड दिए ।
आफूले सबै जातजाति र धर्म संस्कृतिको उच्च सम्मान गर्ने गरेको भन्दै उनले नेवारी संस्कृतिको प्रशंसा समेत गरे ।
कार्यक्रममा नेवार समुदायका अगुवाहरुले आफ्नो संस्कृति र ज्यापु दिवसको महत्वबारे चर्चा गरेका थिए । IMAGEKHABAR