दुर्घटनामा परी मृत्यु भएका सांसद हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न छानबिन समिति गठन

दुर्घटनामा परी मृत्यु भएका बागलुङ क्षेत्र नं १ का सांसद हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न सरकारले आज एक समिति गठन गरेको छ। 
 
नायब महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित तीन सदस्यीय छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी रहेको सूचना तथा सञ्चार मन्त्रालयबाट थाहा भएको छ। समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्ने पनि बताइएको छ। 
 
सांसद खड्का गत बुधबार बलेवा क्याम्पसले आयोजना गर्न लागेको महायज्ञको उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। रासस