काठमाडौ, मंसिर २२ – लामो समयको तिक्ततापछि कांग्रेस, एमाले र एमाओवादीले माघ ८ मा नै संविधान जारी गर्न आवश्यक लचकता अपनाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बसेको तीन दलको बैठकले यस्तो लचकता अपनाउने एकसाथ प्रतिबद्धता जनाएका हुन् । तीन दलबीच मुख्य रस्साकस्सी रहेको शासकीय स्वरूप र संघीयतामा कुन दल कति लचक हुने भन्नेबारेमा भने छलफल गरेका छैनन् ।
तीन दलका नेताहरूले आ-आफ्ना अडानमा ‘विनविन’ सहमतिको प्याकेज तयार गर्न कार्यदल बनाउनेमा सैद्धान्तिक सहमति जनाएका छन् । तर, एकसरो छलफल गरेपछि मात्रै त्यस्तो कार्यदल सार्वजनिक गरिने बताएका हुन् । यसअघि तीनै दलका शीर्ष नेताले पार्टीका अडानमा लचक भए मात्र सहमति हुने भन्दै आएका थिए ।
‘सहमतिका लागि लचकताका साथ प्रस्तुत हुने कुरा भएको छ,’ बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘त्यसका लागि लगातार दुई दिन शीर्ष तहमा छलफल गरी अधिकतम प्रयास गर्ने कुरा भएको छ ।’
संवैधानिक राजनीतिक संवाद तथा राजनीतिक सहमति समितिले संविधानसभामा प्रतिवेदन प्रस्तुत गरेपछि दलहरूबीच वार्ता सुरु हुन थालेको हो । तीन दलको बैठकलगत्तै कांग्रेस, एमाले र मधेसी मोर्चासँग छुट्टै बैठक भएको थियो । वार्तामा सहभागी कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले वार्ता खुला रूपमा सबै विषयमा छलफल भएपनि संविधानका विवादित विषयमा केन्दि्रत भएर छलफल नभएको बताए ।
‘माघ ८ मा संविधान जारी गर्न कुन/कुन विकल्पमा कसरी सहमति गर्ने भन्नेबारेमा छलफल भएको छ,’ खडकाले भने, ‘तर कस्तो मोडलमा सहमति गर्ने भन्नेबारेमा धारणा आइसकेको छैन ।’ मधेसी मोर्चाका नेता राजेन्द्र महतोले कार्यदल बनाउनेबारे छलफल भए पनि संविधानका निर्माणका विषयमा एकपटक विस्तृत छलफल भएपछि औपचारिकता दिनेबारे समझदारी भएको बताए । ‘एकपटक छलफल गरेपछि मात्रै कार्यदल बनाउने कुरा हुन्छ,’ उनले भने ।
मंगलबार कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मात्रै छलफल हुनेछ । त्यसपछि कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच बैठक हुनेछ । एमाओवादीले मधेसी मोर्चालाई समेत सँगै राखेर बैठक राख्नुपर्ने प्रस्ताव गरेको थियो ।
यसअघि तीन दलले आआफ्नो अडान कडा बनाउँदा सहमति नभएको महसुस गरेकाले अब हुने छलफलमा मधेसीसहित चारै पक्ष लचक हुने एमाओवादी उपाध्यक्ष श्रेष्ठको भनाइ छ । ‘सबैलाई मान्य हुने गरी मिलनविन्दु खोज्नुपर्छ भन्ने सबैलाई महसुस भएको छ,’ श्रेष्ठले भने ।
– EKANTIPUR