भैरहवा । मुरारका ग्रुपले संयुक्त लगानीमा भैरहवामा देशकै एक ठूलो अर्घाखाँची सिमेन्ट उद्योग स्थापना गरेको छ । मुरारका समूहले स्थानीय दुई समूह र एक विदेशी लगानीकर्तासँग मिलेर करिब तीन अर्ब रुपैयाँ लगानीमा अर्घाखाँची सिमेन्ट उद्योग स्थापना गरेको हो । रुपन्देहीको मैनहिया गाविसमा अवस्थित उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाईजेशन र मुरारका अर्गनाईजेशनको संयुक्त लगानीमा सञ्चालित छ ।
नेपालका मुरारका ग्रुप, सिद्धार्थ ग्रुप र केडिया ग्रुपले यो सिमेन्ट उद्योगमा लगानी गरेका छन् भने भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि लगानी गरेको छ । मुरारका ग्रुपको ३०, सिद्धार्थ समूहको ३५, केडिया समूहको १७.५ र भारतीय पक्षको १७.५ प्रतिशत लगानी छ ।
सिमेन्ट उद्योगको उत्पादन क्षमता दैनिक १२ सय टन छ । अहिले परीक्षण उत्पादन गरेको उद्योगले एक साताभित्रै व्यवसायिक उत्पादन थाल्ने जानकारी उद्योगका सञ्चालक पशुपति मुरारकाले दिए । अर्घाखाँची सिमेन्ट उद्योगको समूहले डाइनेस्टि सिमेन्ट उद्योग किनेर क्षमता बृद्धि गरेको हो ।
नेपाल गुणस्तर चिन्ह पाएकै दिनदेखि व्यवसायिक उत्पादन सुरु हुन्छ, मुरारकाले भने, सबै प्रक्रिया पुरा भइसकेको छ, संभवत अर्को साता सिमेन्ट बजारमा जान्छ ।