एसएलसी परीक्षा दिने विद्यार्थीलाई ग्रेडिङका आधारमा सबैलाई पास गराइने

काठमाडौं   – शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रमअनुसार प्रवेशिका (एसएलसी) परीक्षा दिने विद्यार्थीलाई ग्रेडिङका आधारमा सबैलाई पास गराउने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार यो वर्ष देशभरिका ९९ प्राविधिक विद्यालयमा पढै गरेका ४ हजार पाँचसय विद्यार्थी प्राविधिक प्रवेशिकामा सहभागी हुँदैछन् । उनीहरुले ग्रेडिङका आधारमा अंक पाउनेछन् । २०७२ सालदेखि नियमिततर्फकालाईसमेत ग्रेडिङ सिस्टम लागू हुनेछ, द्वारेले भने ।
यो सिस्टम अनुसार कुनै पनि विद्यार्थीले ‘फेल’ हुनुपर्ने छैन । उसले पाएको नम्बरका आधारमा ए, बी, सी, डी र ई ग्रेड (अक्षरांक) पाउने छन् । शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेको हो ।
दक्षिण एसियाका अधिकांश मुलुकमा एसएलसी तहको परीक्षामा ग्रेडिङ सिस्टम लागू भईसकेको छ । त्यसैअनुकुल मन्त्रालयले यो निर्णय गर्नु परेको जनाइएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) अनुसार कक्षा १ देखि १२ लाई विद्यालय तह बनाईनेछ । त्यसैअनुसार निर्माण भएको नयाँ पाठ्यक्रमका आधारमा ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय भएको हो । तर शिक्षा ऐन संशोधन नभएकाले एसएसआरपी लागू हुन सकेको छैन भने मन्त्रालयले दोस्रो ढोका प्रयोग गरी ग्रेडिङ सिस्टम कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार ९० देखि १०० प्रतिशत अंक प्राप्त गर्नेको मार्कसिटमा ए प्लस (विशिष्ट) उल्लेख हुनेछ । त्यस्तै, ८० देखि ८९ प्रतिशतलाई ए -उत्कृष्ट),  ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो) उल्लेख गरिनेछ । साथै, ४० देखि ५९ अंक पाउनेले सी (राम्रो),  २५ देखि ३९ डी (कमजोर) र २५ भन्दा कम अंक ल्याउनेले ई (धेरै कमजोर) उल्लेख भएको ग्रेडिङ मार्कसिट पाउने नियन्त्रक द्वारेले जनाए । कुनै पनि विद्यार्थीले ‘फेल’ हुनुनपर्ने भएकाले तनावमुक्त हुने ठानिएको छ । त्यसैगरी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धा रोकिने छ ।
EKANTIPUR