काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले माघ ८ गते भित्रै संविधान जारी गर्नका लागि लचकताकासाथ प्रस्तुत हुन पार्टीको शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुले सरकार विस्तार र आठ प्रदेश सम्म बनाउने गरी सहमति खोज्न नेताहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संविधान निर्माण तथा पार्टी संचालन, सरकारको कामकाराबाहीलाई प्रभावकारी बनाउन भन्दै ११ बुंदे पत्र पेस गरेका छन् । बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लगायतले सरकारको कार्यशैलीको आलोचना गर्र्दै संस्थागत ढंगले चल्न पार्टी सभापति सुशील कोइरालालाई सुझाव दिएका थिए ।
वैठकमा संविधान निर्माण र अन्य दलहरुसंग भएका छलफलबारे समिक्षा भएको प्रवक्ता दिलेन्द्र प्रसाद वढुले जानकारी दिए । उनले संविधान लेखन प्रक्रियामा पार्टी कुन हदसम्म लचिलो हुने भन्ने विषयमा पनि छलफल भएको बताए ।
प्रवक्ता बडुले पार्टीको अनुशासन भङ्ग गर्नेहरुलाई कारवाही र क्रियाशिल सदस्यता थप गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
यसअघि, हिजो बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान निर्माण लगायतका विषयमा छलफल भएको थियो । बैठकमा कतिपय सदस्यहरुले पार्टीकोतर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।
IMAGEKHABAR