सुर्खेत, मंसिर २७ । सुर्खेतमा यातायात मजदुरले गरेको यातायात बन्द अझै खुल्न सकेको छैन । आज तेस्रो दिन पनि यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका छन् ।
प्रहरीले बढी यात्रु बोकेका सवारी साधानका चालक र बस धनीलाई सार्वजनिक मुद्दा लगाएपछि सुर्खेतमा यातायात मजदुर आन्दोलनमा उत्रिएका हुन् । प्रहरीले मुद्दा फिर्ता लिनुपर्ने माग यातायात मजदुरले राखेका छन् ।
नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायात मजदूरहरुलाई फसाउन खोजेको भन्दै गत विहीवारदेखि नै यातायात ठप्प पारेका हुन् ।
प्रहरी नियन्त्रणमा रहेका चालक, खलासी, कन्डक्टर र बस धनीलाई बिना सर्त रिहा गरी मुद्दा फिर्ता लिनु पर्ने उनीहरुको माग छ ।
सुर्खेतका प्रहरी उपरीक्षक राजेशकुमार लाल कर्णले भने आन्दोलनकै भरमा दोषीलाई छोड्न नसकिने स्पष्ट पार्दै कानुनी कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
IMAGEKHABAR