छिन भरमै लुटियो ठाडाकी रुमाको खुसी

अर्जुन भुसाल 



अर्घाखाँची मंसिर २७ । एउटी आमालाई आफ्नो सन्तान गुमाउदाको पिडा कति हुन्छ भन्ने कुरा सायद सन्तान गुमाउने आमालाई मात्रै थाहा हुन्छ  । हुर्काइ सकिएको छोरालाई बाघले टिपेर लैजाँदाको पिडाले ठाडा – २ की रुमा नेपालीलाई निकै सताएको छ । ४ वर्षिय छोरा सुसान्तलाई लिएर केहि दिन अघि माइती घर आएकी उनले एक्लै घर फर्कर्नु पर्ला भनेर कल्पना सम्म पनि गरेकी थिइनन् । शुक्रबारको साँझ उनको जीवनका लागि सबै भन्दा पिडादायी  बनेको छ । 



एक मात्र छोरालाई बाघको आक्रमणबाट गुमाउनु पर्दा उनी वेहोस जस्तै बनेकी छिन । अब मैले घर जाँदा के लिएर जाने ? आशु झार्दै उनले भनिन, मलाई यति चोट अहिले सम्म परेको थिएन ।  बालकका वुवा कमल रोजगारी सिलशिलामा भारतमा छन् । मावली घरको आगनमा खेल्दै गरेका उनी एक्कासी हराएपछि परिवारले बाघले लगको आशंकामा जङ्गलमा गएर खोजेका थिए । स्थानीयले होहल्ला गरेपछि बाघले आधा खाएको अवस्थामा बालकलाई छाडेको थियो । बालकको शव जङ्गलमा भेटेपछि स्थानीयले रात जङ्गलमै विताएका थिए ।  



प्रहरीले बाघ नमारे सम्म बालकको शव नबुझ्ने भन्दै उनीहरु रातभर जङ्गलमै बसेका थिए । उनीहरुले शनिवार दिउसो मात्र शव लैजान दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसी, वन कार्यालयका कर्मचारी, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, महिला मानव अधिकार रक्षक जिल्ला सञ्चालकी अध्यक्ष जानका वञ्जाडे लगायतकाले  घटना स्थल पुगेर बाघ मार्ने प्रतिवद्धता जनाएपछि स्थानीयले शव पोसमार्टमका लागि लैजान लिएका हुन । बाघको आक्रमण नरोकिएपछि प्रहरीले गत असारमा सन्धिखर्कमा नरभक्षी भएको आशंकामा एक चुतुवा मारेको थियो । चितुवा मारेपछि पनि आक्रमण रोकिएको छैन ।



 प्रहरी नायव उपरिक्षक दीपेन्द्र जिसीले बाघ मार्नको लागि प्रहरी परिचालन गरिएको बताए । उनले स्थानीयले सहयोग नगरेसम्म बाघ फेला पार्न गाह्रो हुने भएकोले सबैले सहयोग गर्नुपर्ने बताए । प्रहरीले बाघ मार्न कुनै कसुर बाँकी राख्दैन जिसीले भने, स्थानीयको सहयोग धेरै चाहिन्छ ।  किमडाँडामा बाघले ठूला मानिसलाई पनि तर्छाउने गरेको छ । यहाँका मानिस वनजङ्गलमा मेलापात गर्न समेत छाडेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले बाघको आक्रमण रोक्न विशेष पहल थाल्नुपर्ने बताए । अभिभावक विशेष चनाखो हुनुपर्दछ उनले भने, प्रशासन आवश्यक सहयोग गर्न तयार छ ।



०७० साउन २८ गते जिल्लाको नुवाकोट गाविस वडा नं. ४ सुरसिङ्गका दुर्गा बहादुर नेपालीका तिन वर्षिय छोरा नारायण नेपालीलाई बाघले खायो । आमाले गोठको काम गरिरहेको समयमा आगनमा खेलिरहेका बालकलाई साझ बाघले लग्यो । अर्को दिन बिहान स्थानीय  र प्रहरीले खोजी गर्दा  घर नजिकैको जंगलमा सवै शरिर  खाएको अवस्थामा बालकका केहि हड्डी मात्र भेटिए । त्यसको डेढ हप्ता पछि सोहि ठाउँमा पिताम्मर नेपालीको छ वर्षिय छोरा उमे नेपालीलाई बाघले खायो । 



०७१ वैशाख ४ गते सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाका  रामप्रसाद  मरासिनीको २० महिनाको छोरो  युवराज मरासिनीलाई बाघले खायो । साँझ पख आमा शान्ताले छोरालाई हात खुट्टा धोइदिन बाहिर राखेर आपूm भित्र पानी लिन गएको बेला वाघले बच्चालाई लगेको थियो । रातभरी बच्चाको खोजी गरे पनि अर्को दिन बिहान साढे आठ बजे मात्र घर देखि झण्डै ४ सय मिटर तल जंगलमा बच्चाको कपाल , छाला र हड्डी भेटियो । 



 जेठ २३ गते सन्धिखर्क नगरपालिका वडा नं. २ कुरमा  सात वर्षिय सुरेस आचार्यलाई बाघले खायो । यस्तै भदौ १९ गते सन्धिखर्क १० किमडाँडामा चेतबहादुर वि.ककी पाँच वर्षकी छोरी सुजता वि.कको बाघको आक्रमणबाट मृत्यु भयो ।  बाघले बच्चालाई साँझको मौका समातेर आक्रमण गर्ने गरेको छ  ।  प्राय गरेर गाउँ घरमा साँझको समयमा आमाबुवाहरु बालबच्चालाई बाहिरै राखेर गोठ वा घर भित्रको काम गर्ने गर्दछन् । बालबच्चा पनि यो समयमा बाहिर निस्केर खेल्न मन पराउँछन् । साँझको समय नै बाघ आक्रमण गरेको हुनाले यो समयमा  बालबच्चाको राम्रोसँग हेरचाह गर्नु पर्ने देखिएको छ ।  

अन्य समाचारहरु