काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसम बदली हुँदा मुलुकभर ह्वात्तै चिसो बढेको छ । अरब सागरबाट पाकिस्तान, जम्मु कश्मिर हुँदै नेपाल छिरेको पश्चिमी वायुको असरले मौसम परिवर्तन हुँदा देशका विभिन्न भागमा वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली भेगमा हिमपात भएको छ भने तराईमा शितलहर चलेको छ । यस्तै, काठमाडौं उपत्यकामा सिमसिमे वर्षा भइरहेको छ ।
पश्चिमी वायु पूर्वसम्म बिस्तार भईरहेकाले चिसो हुनेक्रम यथावत् रहने मौसमविद्हरुले जनाएका छन् । पश्चिमी वायुको असर आगामी मंगलबारसम्म रहने मौसमविद् राजाराम ढकालले जानकारी दिनुभयो । काठमाडौँमा गएरातिदेखि नै पानी परेको छ ।
पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा क्षणिक वर्षा भएको छ भने देशको पूर्वी भेगमा आज बेलुकीदेखि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । मौसममा परिवर्तन भई पानी परेपछि केही दिन तापक्रम घट्ने र उपत्यकालगायत देशभर चिसो बढ्ने बताइएको छ ।
आज उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ । उता, चिसो बढेसंगै मनाङलगायतका हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।
ताप्लेजुङमन खम्बाछेन, घुन्सा, ओलाङचुङगोला, तोक्पेगोला र पाथीभरा क्षेत्रमा ब्यापक हिमपात भएको छ । हिमपाका कारण त्यस क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । लगातार वर्षा भएपछि देशका अधिकांश ठाउँमा उडान रद्ध गरिएका छन् ।
IMAGEKHABAR