पाकिस्तानको पेशावर सहरस्थित सेनाले चलाएको विद्यालयमा तालिबान बन्दुकधारीले आक्रमण गर्दा ८० विद्यार्थीसहित कम्तीमा १ सय ३२ जनाको मृत्यु भएको छ । मारिनेमा शिक्षक र अर्ध सैन्यबलका सदस्य पनि छन् ।
६ जना बन्दुकधारी पनि मारिएका छन् । मारिने ६ बन्दुकधारी मध्ये एकजना आत्मघाती आक्रमणमा मारिएको बताइएको छ । बन्दुकधारीहरुले विभिन्न कक्षा कोठामा प्रवेश गरी विद्यार्थीहरुमाथि गोली हानेका थिए ।
सैन्य पोशाकमा विद्यालय प्रवेश गरेका बन्दुकधारीको आक्रमणमा घाइते भएका कम्तीमा ४० विद्यार्थी र शिक्षकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । सेनाले करिब ५ सय विद्यार्थीलाई विद्यालयबाट निकालेको जनाएको छ ।
यो घटनालाई पाकिस्तानमा अहिलेसम्म कै निकृष्ट आक्रमणको रुपमा हेरिएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
तालिबानका प्रवक्ताले आफ्ना लडाकूविरुद्ध सेनाले गरेको कारबाहीको बदलामा यो आक्रमण गरेको जनाएका छन् ।
पाकिस्तानी सेनाले पेशावर नजिकको उत्तरी बजिरिस्तानमा तालिबानविरुद्ध बृहत सैन्य कारबाही गरिरहेको छ । उक्त कारबाहीमा ठूलो संख्यामा तालिबान लडाकू मारिएका छन् ।
AGENCIES