माघ ८ मा संविधान जारी गर्नेबारे राष्ट्रिय राजनीतिक वहस चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले भने काठमाडौंको जाडो छल्ने भन्दै चितवनदेखि झापासम्मको दुई साता लामो भ्रमण तय गरेका छन्। निर्मल निवास स्रोतका अनुसार यो नितान्त निजी भ्रमण हो। दुई साता लामो यात्राको सुरुवात आइतबारबाट सुरु हुने छ।
पूर्व राजाको स-परिवार चितवन भ्रमणको कार्यक्रम तय भइसकेको छ। सुरक्षा तथा अन्य व्यवस्थाका लागि एक टोली शनिवार नै त्यसतर्फ जाने छ। भ्रमणका साथमा पूर्व राजाका निजी सचिव सागर तिमिल्सिना, फणिराज पाठक लगायतका टोली सम्लग्न रहने छ। जानकारी अनुसार पूर्व राजा चितवनमा रहदा भरतपुरस्थित रोयल सेन्चुरी र सौराहामा एक होटलमा बस्ने छन्।
चितवनमा केही दिनको बसाईपछि पूर्व राजा ज्ञानेन्द्र बाराको सिमरा जानेछन्। प्राप्त जानकारी अनुसार वाराको सिमरा मुकाम बनाएर तराईका विभिन्न जिल्लाको भ्रमण गर्ने छन्। सिमरामा उनी आफना साथी प्रभु शम्शेर जबराको घरमा बस्ने छन्।
वारामा बसेर तराईका विभिन्न जिल्ला घुम्ने र त्यहाँ सामाजिक तथा राजनीतिक जीवनका व्यक्तिहरुलाई भेटघाट गर्ने तयारी समेत भएको बुझिएको छ। वारा पछि उनी भ्रमणको अन्तिममा झापा जाने छन्। र, त्यहाँ उनी दमकस्थित चिया वगानमा बस्ने भएका छन् । Setopati