काठमाडौं, पौष ५ । संविधानका विवादित विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैठकबाट एकीकृत माओवादीका नेताहरु बाहिरिएपछि बैठक बिना निश्कर्ष टुंगिएको हो ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भनाइ राखेर एमाले अध्यक्ष केपी ओलीले आफ्ना भनाइ राख्दै गर्दा एकीकृत माओवादीका नेताहरु उठेर हिँडेका हुन् ।
सहमति हुन सक्ने विषयलाई सहमति गर्ने, संघीयताका विषयमा सहमति नभए आयोग बनाउने, विवादित विषयलाई थाँती राखेर संविधान जारी गर्नेलगायतका विकल्प केपी ओलीले राख्दै गर्दा एमाओवादी नेताहरु उठेर हिँडेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले सहमति चाहेपनि एकीकृत माओवादीले नचाहेका कारण सहमति नभएको बताए । उनले सहमतिका लागि अझै प्रयास गर्ने र सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने बताए ।
एमाले अध्यक्ष केपी ओलीले एकीकृत माओवादी खास धारणा नबोकीकन निउँ खोज्ने तरिकाले मात्रै बैठकमा प्रस्तुत भएको बताए ।
यस्तै, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले बहुमतका आधारमा पेलेर अघि बढ्ने ढंगबाट प्रस्तुत भएकोले बैठकबाट बाहिरिएको जानकारी सन्चारकर्मीलाई दिए । IMAGEKHABAR