कृष्ण प्रसाद पौडेलको जीवनीमा आधारित वृतचित्र सन्धिखर्कमा प्रदर्शन गरिंदै

– अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची पुस ७ ।  कृष्ण प्रसाद पौडेलको जीवनीमा आधारित वृतचित्र बाह्रखरी लौरो सन्धिखर्कमा प्रदर्शन हुने भएको छ ।

 


ठूलापोखराका अपाङ्ग शिक्षक कृष्णप्रसाद पौडेल ।  तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम्

 

अपाङ्गता भएर पनि शैक्षिक क्षेत्रमा निकै योगदान पु-याएका पौडेलको जीवनीमा आधारित वृत चित्र तयार भएको छ । २०११ साल मंसिर १ गते जन्मिएका उनी जन्मजात अपाङ्ग भएका भने होइनन् । २०२२ सालमा अचानक ज्वरो आएर खुट्टा सुन्निएर थलिएका उनलाई केहि समयपछि निको भएपनि पहिलेको रुपमा परिणत हुन सकेनन् । उनका वुवा कृष्णप्रसादले उनको उपचारमा सबै सम्पत्ति सिध्याए । 



सबै सम्पत्ति सकिएपछि स्थानीयले शिवलाललाई  छाप्रो राख्न र गरिखान ठूलापोखरा रोटेपानी हाल बसिरहेकोमा  केहि बाँझो जग्गा उपलव्ध गराए । कृष्णप्रसाद पाँच कक्षामा पढ्दै गर्दा उनलाई रोगले समातेपछि उनको पढाइ यत्तिकै रोकियो । कृष्णप्रसादले गाउँका केटाकेटीहरुलाई जम्मा गरेर पढाउन  थाले । राम्रोसँग सम्झाइ वुझाइ पढाउन थालेपछि अभिभावकहरु पनि उनी प्रति आर्कषित हुन थाले । उनी प्रति सहानुभूति बढन थाल्यो । यो क्रम ०२२ साल देखि ०४४ सम्म चल्यो । २०४० सालमा सरकारको सहयोगबाट गाउँलेहरुको अगुवाइमा रोटेपानीमा भगवति प्रावि स्थापना भयो । 



उनी त्यहाँका  पहिलो एक्लो शिक्षक भए । २०४२ सालबाट नयाँ शिक्षकहरु थपिन थाले । २०७० साल सम्म निजि क्षेत्रबाट उनलाई न्यून तलवमा राखेपनि उनलाई अहिले त्यहाँबाट हटाइएको छ ।  उनले एक्लै चलाएको स्कुल अहिले निमावि  तह सम्मको छ । कृष्णप्रसादको जीवनीमा आधारित वृत चित्रलाई रिपोर्टर्स क्लव अर्घाखाँची र अर्घाखाँची युवा परिषद्ले संयुक्त रुपमा प्रदर्शन गर्ने भएका छन्  । डा घनश्याम खतिवडाको निर्देशन र सुदर्शन कार्कीको छयांकनमा निर्मित वृतचित्र यहि पुस १२ गते शनिवार  सन्धिखर्कमा प्रदर्शन गरिने रिपोर्टर्स क्लव अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीले बताए ।  वृत चित्रबाट उठेको रकम उनलाई नै प्रदान  गरिने अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण भुसालले बताए । 

अन्य समाचारहरु