शोभाखर पन्थी
नरपानी, अर्घाखाँची पौष ७ । अर्घाखाँची जिल्लामा क्रियाशिल ६ राजनैतिक दलले जनइच्छा विपरित चुनढुङ्गा उत्खनन नगर्न आग्रह गर्दै प्रधानमन्त्री शुसिल कोइरालालाई ज्ञापन पत्र पठाएका छन् ।
स्थानीय बासिन्दाका विरोधका कारण ३ वर्ष देखि बन्द रहेको चुनुढुङ्गा उत्खनन खुलाउन सरकारले बल प्रयोग गर्न थालेको भन्दै जिल्लामा क्रियाशिल दलहरुले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल मार्फत प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र पठाएका हुन ।
नरपानी र खाँचीकोटमा चुनढुङ्गा उत्खनन गरिए वातावरणीय एवं पर्यावरणीय दुष्प्रभाव पर्नुका कारण सिङ्गो जिल्ला नै अस्तव्यस्त हुने भन्दै दलहरुले चुनढुङ्गा उत्खनन गरिएमा खाने पानिका मुहान सुकेर जिल्ला मरुभुमिकरण हुन सक्ने भन्दै सिमित व्यक्तिको क्षणिक लाभ र स्वार्थ पूर्तिका लागि राज्य शक्तिको प्रयोग गरी बल पूर्वक खानी सञ्चालन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
दलहरुले संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै प्राकृतिक श्रोत र साधनको अनुचित दहन गर्ने, हचुवाको भरमा निर्णय गर्ने र त्यसको दुर्गामी परिणाम प्रति वे वास्था गर्ने प्रवृतिको सिकार जिल्ला बासी भएको बताउँदै जनताका न्याय पूर्ण मागलाई वार्ता र संवादका माध्यमबाट संवोधन गरी नरपानी खाँचीकोट चुनढुङ्गा खानी बारे बैज्ञानिक र न्यायपूर्ण निकास दिनु पर्नेमा समेत जोड दिएका छन् ।
साथै दलहरुले ऐतिहासिक पाणिनी तपोभुमि देखी सेङ्गलेग दहसम्मको पर्यटकीय मार्गलाई पूर्णता दिनु पर्ने, पूर्व राजा पृथ्वीनारायण शाहको मावली घर खाँचीकोटको संरक्षण गर्नु पर्ने माग समेत अगाडि सारेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापा, नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसाल, नेकपा मसालका प्रवक्ता थम्मन के.सी र राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला अध्यक्ष देविबहादुर खड्काद्वारा जारी व्यक्तव्यमा जिल्लालाई नै मरुभूमीकरण गराउने गरी जनताका मागलाई कुल्चीएर बल प्रयोग गरी अघि बढ्ने सरकारी नीतिलाई तत्काल सच्याउन र जन दमनमा नउत्रन सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।
यसै विच उद्योगीको माग अनुसार भोली देखि खानी सञ्चालन गर्न सराकारले नरपानी आसपासका क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । भने खानी सञ्चालनको विरोध गर्दै आएका स्थानीय बासिन्दाहरुले कुनै पनि हालतमा खानी सञ्चालन हुन नसक्ने बताएका छन् । जनताको मागलाई कुल्चिएर सरकारले जबरजस्ती खानी खोल्न लागेको भन्दै, आफ्नो पदबाट राजिनामा दिएका एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य स्वास्थ्य उपचारको निम्ति दिल्ली गएकोमा दौडधुप गर्दै आजै अर्घाखाँची आई पुग्नु भएको छ भने अर्घाखाँची जिल्ला क्षेत्र नं. २ सभाषद डा. दुमनसिंह थापा समेत जिल्ला भित्र प्रवेश गरिसक्नु भएको एमालेले जनाएको छ । सरकारले जबरजस्ती खानी खुलाउने र स्थानीय बासिन्दा र राजनैतिक दल खानी बन्द गर्ने पक्षमा उभिंदा नरपानीमा भिडन्त हुन सक्ने भन्दै सर्वसाधरणहरु चिन्तित बनेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने आफुले बार्ता र संवादको माध्यम बाटै समस्याको निकास निकाल्ने प्रयास गरि रहेको बताउनु भएको छ । उहाँले मंगलबार विहान ८ः३० बजे जिल्ला स्थित राजनैतिक दल ,स्थानीय बासिन्दा उद्योग पतिको संयुक्त बैठक आयोजना गरिएकाले बैठक बाटै सहमती निकालिने बताउँदै आफु जनतालाई दमन गर्ने पक्षमा नभएको बरु संवादका माध्यमबाट उचित निकास निकाल्न लागि परेको भन्दै सहमतीको वातावरण निर्माण गर्न राजनैतिक दल, नागरिक समाज, स्थानीय बासिन्दा, उद्योगपति लगायत सबै पक्षलाई आग्रह गरि रहेको बताउनु भयो ।